नेपाली फिल्म क्षेत्रमा ‘चकलेटी नायक’ को उपमा पाएका आर्यन सिग्देल अनपेक्षित रूपमा आफू कलाकारितामा आएको मान्छन् । साथीको उक्साहटमा अभिनयमा कदम हालेका उनी अन्ततः यही क्षेत्रमा रमाए र समय क्रममा स्थापित भए।
‘फिल्ममा नआएको भए सायद आर्मी वा लोकसेवा लडेर सरकारी जागिरे हुन्थेँ होला’, आर्यन भन्छन् । आर्यनको फिल्मी करिअरको सन्दर्भ उनकै बाेलीमा :
म कहिल्यै कुनै कुरा योजना बनाएर गर्दिनँ । अभिनयमा पनि म योजना बनाएर छिरेको होइन । म जे कुरा अगाडि आउँछ, त्यो गर्ने मानिस हुँ । अभिनयमा प्रवेश त्यस्तै किसिमले भयो । कलेज पढ्दा निराजन सिग्देल भन्ने साथी थियो । उसले मलाई ‘तँ राम्रो नि छस्, गर्न सक्छस्’ भनेर परिवर्तन नेपाल जान कर नगरेको भए आज म अन्तै अरु नै केही गर्दै हुन्थेँ होला । कलेजमा पहिलो वर्ष सकिएपछि केही समय ग्याप भएको बेला साथीले रमाइलो हुन्छ भनेपछि म उद्देश्य बिना गएको थिएँ । त्यहाँबाट सुरू भएको नाच्ने तथा सडक नाटकको यात्रा यहाँसम्म आइपुगेर दर्शकको मायाले आर्यन बन्न सफल भएको हुँ।
कलेज पढ्दै गर्दा मसँग कुनै लक्ष्य थिएन । म काँठ क्षेत्रको मान्छे । काँठको धेरैजसो मान्छेको उद्देश्य पढेर सरकारी जागिर खाने नै हुन्थ्यो । तर, त्यो बेला विद्यार्थी भएकाले कुनै लक्ष्य नसोची पढिरहेको थिएँ । म आर्मी कलेज पढेकाले आर्मीमा जान सक्थेँ।
म अनपेक्षित रूपमा अभिनेता बनेको हुँ । यो क्षेत्रमा आएपछि भने कुनै एउटा समूहको जिम्मा लिनु रहेछ । अर्थात् मासको सिम्बोल बनिने रहेछ । समग्रमा अभिनेता हुनु भनेको मासलाई मनोरञ्जन दिएर खुसी तुल्याउने काम रहेछ।
थानकोटबाट यहाँ आउँदा हरिश सिग्देल भन्ने व्यक्ति अझै पनि मभित्र जस्ताको तस्तै छ । अभिनयले मलाई व्यक्तिका रूपमा खास परिवर्तन गरेको छैन । पहिला पनि म एक्लै बस्न रूचाउँथे, अहिले पनि त्यस्तै छु । काम नभएको बेला घरमै बस्न रुचाउँछु । पहिला पनि मास फेस गर्नुपर्दा नर्भस हुन्थेँ, अहिले पनि हुन्छु।
नेपाली फिल्म नियमित हेर्थेँ । त्यो बेला थानकोटमा पनि हल थियो । शनिबार बुवाको फुर्सद हुने भएकाले ‘आउटिङ’ जाने भएपछि नयाँ फिल्म लागेको छ भने पहिलो रोजाइमा फिल्म नै हेरिन्थ्यो । त्यहाँ छैन भने म विश्वज्योति हल पुगेर पनि फिल्म हेर्थेँ । त्यतिबेला म नितान्त दर्शक थिएँ, फिल्म खेल्छु भनेर मनको कुनै कुनामा पनि थिएन । तर, फिल्म हेरेर फर्केपछि कोठा बन्द गरेर फिल्ममा बाल कलाकार रहेछ भने त्यसको र डान्सको दुई–चार स्टेपको नक्कल गर्थेँ।
फिचर फिल्ममा काम गर्नुअघि म भिडियो सिरियल गर्थेँ । त्यस क्रममा नेपाली फिल्मको खस्किँदो स्तरले दिक्क लाग्थ्यो । सिरियलहरूमा काम गरिरहँदा फिल्म गर्दिनँ भन्ने नै सोच थियो सबैला त्यसै भन्थेँ । ‘हाउसफूल’ सिरियल गरिरहँदा अभिनेत्री ऋचा घिमिरेलाई छवि ओझाले त्यो केटा कस्तो रहेछ भनेर सोध्नुभएको रहेछ । पहिलो प्रस्ताव ‘किस्मत’का लागि भन्दा पनि त्यसअघि बनेको ‘हिम्मत’को लागि थियो । मैले मेरो सिरियलका सिडीहरू छोडिदिएको थिएँ । ‘हिम्मत’मा काम नभएपछि सिरियलमै व्यस्त भएँ । पछि फेरि छवि सरले फोन गरेर डाइरेक्टरसँग आएर भेटिहाल भन्नुभयो।


मलाई त्यो समयमा निर्देशक उज्ज्वल घिमिरेको पनि फोन आयो । उहाँले ‘ल बाबु मेरो घर आऊ, मेरो फिल्म गर्नुपर्यो । छविले नयाँ केटा खोज्या छ रे, म पहिला तिम्रो कुरा गर्छु’ भन्नुभयो । म त्यतिखेर ‘खुसी पलभरको’ गरिरहेको थिएँ, त्यसमा मेरो नाम आर्यन सिग्देल थियो । छवि सरलाई दिएको ‘हाउसफूल’को सिडीमा भने हरिश सिग्देल थियो । म उज्वल सरकोमा जाँदा उहाँले छविले हरिश भन्ने केटा खोजेको छ रे भन्नुभयो । मैले हरिश भन्ने मान्छे पनि म नै हो भनेँ । यसरी दुवैको रोजाइमा परेपछि ‘किस्मत’ मेरो डेब्यू फिल्म बन्यो।
बाहिरतिर पनि त्यस्तै देखिरहेकाले त्यसबेला लहड चल्यो । अनि यो हरिशभन्दा आर्यन नाममा वजन र ग्ल्यामर पनि देखेँ । आर्य आर्य भन्दाभन्दै आर्यन नाम दिमागमा बस्यो । त्यही भएर यहीँ नाम राखेँ।
फिल्म गर्ने भएपछि प्रोडक्सनबाट ड्रेसको लागि अफिस आऊ भनियो । म जाँदा रेखा त्यहीँ थिइन् । छवि सरले उहाँ रेखाजी भनेर चिनाउनुभयो । मैले चिन्छु भनेँ । त्यो बेला मसँग अलिकति ‘एटिट्युड’ थियो । मैले रेखालाई पहिलो भेटमै सहजै तिमी भनिदिएँ । सुरूमै तिमी भनेपछि रेखा त्यसबेला ट्वाँ परिन् । पहिलो भेट भए पनि मलाई सेलुलोइड फिल्मको त्यति महत्व नभएर त्यसरी बोलेको थिएँ । यो कुरा रेखाले मलाई पछि भनिन् । त्यहीँदेखि हामी राम्रो साथी बन्यौं।
परिवारबाट एक थोपा पनि साथ थिएन । २/३ वटा फिल्म रिलिज भएपछि र हिट भएपछि मात्र ड्याडीले एप्रिसिएट गर्न थाल्नुभयो । त्यसअघि चाहिँ ‘काम न काज खाली आवारा भएर हिँडेको छ’ भनेर गाली सुन्नुपर्थ्यो । सुटिङका कारण कहिले हप्ता त कहिले महिनासम्म घर बाहिर हुन्थेँ । अहिले भने खुसी हुनुहुन्छ।
सन्तुष्ट छु । म फिल्ममा काम गर्न सुरु गर्दा हाम्रो इन्डस्ट्री राम्रो होस् भन्ने थियो, जुन पहिलेको तुलनामा धेरै राम्रो भएको छ । मलाई कुनै यस्तो वा त्यस्तो चरित्र गर्न पाए हुन्थ्यो भन्ने छैन । बनेको फिल्म समग्रमा राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता र बुझाइ हो । मैले फिल्म गर्दा फिल्मको स्क्रिप्ट माग्यो र नदिएपछि छोड्यो भन्ने आरोप ममाथि लाग्थ्यो । मेरो लागि फिल्ममा मेरो भूमिका गजब छ भन्ने कुराले अर्थ राख्दैन, बरु फिल्मको पहिलो दृश्यदेखि अन्तिम दृश्यसम्म हुने कुरा र कस्ता पात्रले के गर्छन् भन्ने कुरा ठूलो लाग्छ । तिनै चिज हेरेर फिल्म गरेकाले म आफ्नो कामबाट सन्तुष्ट छु।
पाँच वटा खराब फिल्मको नाम सोधेमा भन्न सकूँला, राम्रो भन्न गाह्रो छ । मलाई मन परेका फिल्महरु भन्दा ‘मेरो एउटा साथी छ’, ‘कसले चोर्यो मेरो मन’, ‘फस्ट लभ’, ‘धुवाँ– यो एक नशा’, ‘क्लासिक’, ‘माला’, ‘होमवर्क’, ‘नोभेम्बर रेन’ र ‘आई एम सरी’ पर्छन्।
चल्यो भन्दा खुसी लाग्नु र चलेन भन्दा दुःख लाग्नु स्वाभाविकै हो । तर, मलाई फिल्म चल्यो–चलेनभन्दा पनि मेरो फिल्म व्यापारिक रूपमा नचले पनि हेर्नेहरुले आर्यनको काम राम्रो छ भन्दा चाहिँ धेरै खुसी लाग्छ । नराम्रो प्रतिक्रिया पाउँदा अर्को प्रोजेक्टमा काम गरेर देखाउँछु भनेर मन बुझाउँछु। राम्रो स्क्रिप्ट बोकेर आउने जोकोहीसँग पनि म काम गर्न तयार हुन्छु । त्यसमाथि प्रायः राम्रा निर्देशकहरूका फिल्म गरिसकेकाले रहर बाँकी छैन । जसको भए पनि राम्रो फिल्म गर्न पाऊँ, त्यत्ति हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।