काठमाडौं- संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएका छन्। उनले आइतबारै राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन्। संसद् सचिवालयले उनले घरायसी कारण देखाउँदै राजीनामा दिएको बताएको छ। संसद् सचिवालयको शक्तिशाली यो पदमा गौतमको कार्यकाल आगामी साउनसम्म थियो। तर उनले आठ महिनाअघि नै राजीनामा दिएका हुन्।
गौतमको राजीनामाबारे उनी स्वयंले केही बोलेका छैनन्। बरु संघीय संसद्मा सचिवालयमा कार्यरत र उनीबारे जानकारहरूले उनको राजीनामामा राजनीतिक कारण रहेको आकलन गर्छन्। खासगरी एमालेको हित सुनिश्चित हुने गरी उनले राजीनामा दिएको उनीहरू तर्क गर्छन्।
गौतम एमाले निकट मानिन्छन्। उनले महासचिवको रुपमा एमाले र विशेष गरी केपी शर्मा ओलीको हित देखिने गरी पटकपटक निर्णय लिने गरेको सन्दर्भ पाइन्छ।
तत्कालीन नेकपा विभाजनअघि एमाले संसदीय दलका नेताबाट ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिएको सूचना उनले संसद् सचिवालयमा दर्ता गर्न सुरुवातमा आनाकानी गरेको प्रसंग पुरानो होइन। यदि त्यो प्रक्रियामा गौतमले ढिलाइ नगरिदिएको भए ओलीको स्थानमा प्रचण्ड प्रधानमन्त्री नियुक्त हुन सक्थे भनेर सो पक्षका नेताहरूको भनाइ हुने गर्थ्यो।
२०७७ फागुन २३ गते सर्वोच्चले नेकपाको एकतालाई खारेज गर्नुअघि संसद् सचिवालयमा नेकपाका प्रचण्ड-माधव नेपाल पक्ष पुगेका थिए। प्रचण्डलाई संसदीय दलको नेता बनाइएको सूचना दर्ता गर्न पुगे पनि गौतमले दर्ता गर्न आनाकानी गरिदिएका थिए। जब सर्वोच्चको फैसलाको खबर उनले पाए, तब मात्रै उनले सूचना दर्ता गरे। तर त्यसको औचित्य सकिइसकेको थियो।
त्यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग निष्क्रिय भइसकेको भनेर महासचिव गौतमले पत्र लेखेका थिए। सोही पत्रका आधारमा राणाले कार्यकाल सकिनुअघि सर्वोच्च छिर्ने प्रयत्न पनि गरेका थिए। ओलीकै संकेतमा गौतमले सो पत्र लेखेको चर्चा त्यतिबेला भएको थियो। किनकि, ओली प्रधानमन्त्री हुँदैदेखि राणासँग उनको सम्बन्ध राम्रो रहेको थियो। उनीविरुद्ध कांग्रेस, माओवादी केन्द्र लगायतका दलद्वारा महाभियोग दर्ता भएपछि पनि ओलीले सार्वजनिक रुपमै महाभियोगको प्रतिवाद गर्दै राणाको पक्ष लिएका थिए।
गौतमले राजीनामा दिएपछि संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख देवप्रसाद घिमिरे र राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिना दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पाण्डेयको नाम सिफारिस गरिएको छ। अब उनी नै महासचिव बन्नेछन्।
गौतमको राजीनामा र पाण्डेको 'बढुवा'लाई दुई कोणबाट चर्चा गर्न सकिन्छ। जसलाई संघीय संसद् सचिवालयका अधिकारीहरूले व्यक्त गरेको आकलनसँग जोड्न सकिन्छ।
पहिलो, एमाले निकट गौतमको बिदाइबाट एमाले निकटकै पाण्डेयको बढुवालाई सहज बनाउने उद्देश्य।
अध्यक्ष तिमिल्सिनाको कार्यकाल यही फागुनमा सकिँदैछ। त्यसपछि सत्ता गठबन्धनकै कोही व्यक्ति राष्ट्रिय सभाको अध्यक्ष बन्ने निश्चितप्रायः छ। त्यतिबेला सभामुख एमालेको र राष्ट्रिय सभा अध्यक्ष सत्ता गठबन्धनको हुँदा महासचिव नियुक्तिमा मतैक्य नहुन सक्छ। अर्थात् एमालेको व्यक्ति महासचिव नहुन पनि सक्थे।
यतिबेला एमाले निकटका व्यक्तिलाई महासचिवका लागि सिफारिस गर्ने अवसर सोही पार्टीबाट सभामुख र अध्यक्ष बनेका व्यक्तिहरूलाई प्राप्त थियो। त्यही कारण पदावधि बाँकी नै रहेका गौतमलाई कुनै आश्वासन दिएर राजीनामा दिन लगाइएको र पाण्डेयको सिफारिस गरिएको हुनसक्ने संसद् सचिवालय स्रोतको आकलन छ।
महासचिव सिफारिस भएका पाण्डेय एमाले पृष्ठभूमिका हुन्। उनी एमाले निकट भएकै कारण गत वैशाखमा सभामुख घिमिरेको सिफारिसमा प्रतिनिधि सभा सचिव नियुक्त भएका थिए। गौतमको बहिर्गमनपछि एमाले निकटकै व्यक्ति महासचिव बन्ने भएकाले पनि राजनीतिक रुपमा सहज भएको देखिन्छ।
दोस्रो, सभामुख पनि एमालेकै भएकाले पाण्डेयको स्थानमा अर्को सचिव एमालेकै नियुक्त गर्न सहज हुन्छ। पाण्डेय स्वयं सभामुख घिमिरेको सिफारिमा सचिव बनेकाले उनी महासचिव बनेपछि रिक्त स्थानमा एमाले निकटकै व्यक्तिलाई सचिव नियुक्त गर्न सभामुख घिमिरेलाई सहज छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।