काठमाडौं- कानुन छलेर सेयर खरिद-बिक्री भएको एनसेलबारे सरकारको धारणा स्पष्ट पार्न संसद्को लेखा समितिले सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको लेखा समितिको बैठकले सो निर्देशन दिएको हो।
‘यस सेयर खरिद-बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लागनी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारणा यथाशीघ्र ४८ घण्टा भित्र सार्वजनिक गर्न समितिको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ,’ बैठकले सरकारर्लाइ निर्देशन दिएको छ।
साथै समितिले ६ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने सो संस्थाको पछिल्लो प्रकरणले अनिश्चितता सिर्जना गरेको बताएको छ।
‘न्यून मूल्याङ्कन गरी खरिद-बिक्री गरिनु नेपाल खरिद-बिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पूँजीगत लाभकर, स्वामित्व हस्तान्तरण कर लगायतका करहरु प्रभावित गर्न खोजिनु करिब ६ वर्षपछि कानूनत नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई अनिश्चयतर्फ धकेल्नु हो,’ समितिले आफ्नो निर्णयमा उल्लेख गरेको छ।
समितिले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गर्ने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।