काठमाडौं– नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको दोस्रो दिन कोमल भट्टराईले फेसबुकमा स्टाटस लेखे- ‘राजनीतिक यात्रा हो कि तीर्थ जात्रा हो छुट्याउन कठिन।’
भट्टराईले विस्तृतमा नलेखे पनि उनको कटाक्ष एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानमा सहभागी नेताहरूले सार्वजनिक गरेका फोटोतर्फ रहेको सहजै बुझ्न सकिन्छ।
तीन हप्तासम्म चल्ने भनिएको अभियान मंसिर १४ गते पश्चिम नेपालको झुलाघाटबाट सुरु भएको छ। अभियानमा सहभागी नेताहरूले फेसबुकमा फोटोहरू पोस्ट गरिरहेका छन्। जहाँ उनीहरूको धार्मिक रुझान प्रष्ट देखिन्छ।
गत कात्तिक २२ गते बसेको एमालेको सचिवालय बैठकपछि यस अभियानबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रहरूमा सभा, भेला, अन्तर्क्रिया गरिने बताएका थिए।
त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने उनको भनाइ थियो।
तर प्रारम्भमा नेताहरूले सार्वजनिक गरेको फोटोले भने उनीहरू तीर्थ यात्राको उद्देश्य बोकेर हिँडेको जस्तो प्रतीत हुन्छ।
एकछिन अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेज अवलोकन गरौँ।
उनले बिहीबार पत्नी राधिका शाक्यसमेतको केही फोटो पोस्ट गरेका छन्। फोटोचाहिँ अघिल्लो दिनको भएको उनले लेखेका छन्। त्यसक्रममा उनले दशरथचन्द नगरपालिकामा पर्ने निङालासइनी (निङ्गलाशैनी) देवीको दर्शन र पूजा गरेको जानकारी दिएका छन्।
![Ninglashaini_KP_oli_puja_path_-1701270078.jpg](https://nepallive.net/uploads/posts/Ninglashaini_KP_oli_puja_path_-1701270078.jpg)
बिहीबार नै उनले त्यसै दिनको फोटो पनि पोस्ट गरेका छन्। यसपटकको फोटोचाहिँ बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा दर्शन गरेको जानकारी दिन पोस्ट गरिएको बुझिन्छ।
शुक्रबार उनले पोस्ट गरेको अर्को फोटोमा पत्नी राधिकासहित त्रिपुरासुन्दरी मन्दिरमा पूजा गर्दै गरेको देखिन्छ।
शुक्रबारै पोस्ट गरिएको अर्को फोटोमा उनले उग्रतारा माताको दर्शन गरेको जानकारी दिइएको छ। त्यहाँ उनले मन्दिरमा पूजा गरेको, माला लगाएको देख्न सकिन्छ।
![KP_oli_Ugratara_Pooja-1701520434.jpg](https://nepallive.net/uploads/posts/KP_oli_Ugratara_Pooja-1701520434.jpg?timestamp=1701520434248)
शनिबार बिहान पनि उनले त्यस्तै फोटो र स्टाटस पोस्ट गरेका छन्। यसपटकको मन्दिर दर्शनचाहिँ डोटीमा रहेको शैलेश्वरी माताको हो। फोटोचाहिँ हिजो (शुक्रबार)कै भएको उनले जानकारी पनि दिएका छन्।
ओलीको फेसबुक पेजमा अन्य केही पोस्टहरू पनि गरिएको देखिन्छ। तर मन्दिर दर्शनसम्बन्धी पोस्टले अन्यलाई ओझेलमा पारेको देखिन्छ।
ओली मात्रै होइन। यत्रामा सहभागी अन्य नेताको फेसबुकमा पनि मन्दिर दर्शन र पूजाको फोटोहरू देख्न सकिन्छ।
शनिबार बिहान मात्रै एमालेका केन्द्रीय सदस्य झपट रावल ‘फोटो हिजो र आजको यात्रा अछामको’ भन्दै शीर्ष नेताहरू मन्दिर अगाडि उभिएर खिचिएका केही फोटोहरू पोस्ट गरेका छन्। एउटा फोटोमा ओली पहेँलो वस्त्र ओडेर ‘तथास्तु’ भनेझैं गरेर उभिएका छन्।
अर्को फोटोमा ओलीको हाउभाउ उस्तै छ। उनको दाया र बायाँ उपाध्यद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे छन्। अर्को फोटोमा महासचिव शंकर पोखरेल पनि पहेँलो वस्त्र ओडेर उभिएका छन्। अर्को फोटोमा स्थायी कमिटी सदस्य शेरधन राई छन्। उनी हातमा फूल लिएर उभिएका छन्। रावलसहितका कैयौँ नेता तथा कार्यकर्ताहरूको सामूहिक फोटो पनि छन्।
नेताहरूबाट सार्वजनिक नेताहरूकै यस किसिमको फोटोले उनीहरूको मुख्य उद्देश्य नै मन्दिरैपिच्छेको पूजा गर्दै हिँड्नु रहेको जस्तो देखिन्छ।
रावलको सो पोस्टलाई सेयर गर्दै केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले लेखेकी छन्- ‘कमरेडहरूले नाम फेरे हुनेभयो बीचैमा यात्राको।’
उनले यात्राको नयाँ नाम सुझाएकी त छैनन्। तर, नेताहरूको मन्दिर दर्शन र पूजाआजाप्रति व्यंग्य गरेकी हुन् भनेर चाहिँ सहजै बुझ्न सकिन्छ।
लेखक सरिता तिवारीले रावलले पोस्ट गरेकैमध्ये एक फोटो फेसबुकमा पोस्ट गर्दै राजतन्त्रवादी र एमाले नेताहरूको गन्तव्य एउटै भएको भन्दै कटाक्ष गरेकी छिन्। ‘धर्म मानिसको आदिम विश्वास र धारणा हो; यसको सम्मान गर्नुपर्छ, तर धर्मभित्र सामन्ती संस्कार, विभेद र अपमानका सही नसक्नुका विधान र व्यवहार छन् ,यो कुनै हालतमा ग्राह्य हुन सक्दैन’, उनले लेखेकी छिन्, ‘यसैकारण, एक चिमटी मात्रै पनि विवेक भएको दलले यसरी पितवस्त्रधारी राजनीति प्रदर्शन गर्नु ठिक ठहरिन्न। धर्मलाई राजनीतिक साध्य बनाउने मनसुवा जुनसुकै दलले राखोस्, त्यो पश्चगामी हो, चाहे त्यसले गणतन्त्रको जतिसुकै ठूलो महिमा गरोस्।’
नेताहरूले पोस्ट गरेका फोटोहरूमा कमेन्ट गर्ने धेरै फेसबुक प्रयोगकर्ताहरूले पनि एमालेको यो अभियानलाई ‘तीर्थ-यात्रा’ भन्दै व्यंग्य गरेको देख्न सकिन्छ।
यात्राको तेस्रो दिन चलिरहेको छ। यसले कम्युनिस्ट पार्टी भनिने नेकपा एमालेका शीर्ष नेताहरूको धार्मिक आस्था र रुझानलाई सामाजिक सञ्जालमा छताछुल्ल पारेको छ। पुस २ सम्म चल्ने भनिएको यो अभियानका बाँकी दिनहरू कस्ता रहने हुन्, हेर्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।