काठमाडौं- नेकपा एमालेले मंसिर १४ देखि तीन हप्ता लामो मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने भएको छ।
बुधबार बसेको सचिवालय बैठकले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीद्वारा राष्ट्रिय झन्डोत्तलसँगै अभियान सुरु हुने निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरूमाझ निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रहरूमा सभा, भेला, अन्तर्क्रिया गरिने बताए।
त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने बताए। ‘१२/१५ खालका क्रियाकलापहरू गर्दै हामी चिवाभञ्ज्याङ पुग्नेछौं', उनले भने, 'त्यहाँ राष्ट्रिय झन्डोत्तलन गर्दै यो अभियान सम्पन्न भएको प्रतीक चिह्न राखेर फर्किनेछौँ।'
उनले अभियानबाट मधेश र हिमाललाई पनि जोडिने बताए। ‘सिंगो देशको अभियानको रुपमा यसलाई अगाडि बढाउँछौं’, उनले भने, ‘राजनीतिक अभियान त हुँदै हो। त्योभन्दा पनि बढी विकास निर्माण, सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रुपमा यसलाई लैजान्छौं।’
उनले अभियानका चार मुख्य उद्देश्य पनि प्रस्तुत गरे।
‘पहाडको विकासमा चुनौती के हुन्, जसले पहाडको बसाइसराइलाई कम गर्न सकिन्छ, त्यसलाई समृद्धिको आधार बनाउन सकिन्छ’, उनले पहिलो उद्देश्य प्रस्तुत गर्दै भने, ‘पहाड समृद्ध नहुञ्जेलसम्म सिंगो राष्ट्र समृद्ध हुन सक्दैन। त्यसैले विकासको समस्या पहिचान गर्दै पहाडको समृद्धिलाई अगाडि बढाउने यो अभियानको एउटा महत्त्वपूर्ण उद्देश्य हुनेछ।’
दोस्रो उद्देश्य स्वरुप उनले राष्ट्रिय एकताको निर्माणलाई प्रस्तुत गरे। भने, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने, विभिन्न कोणबाट देखा पर्न लागेका कतिपय संकिर्ण अतिवादी सोचहरूलाई निष्तेज गर्ने र बलियो राष्ट्रिय एकताको निर्माण गर्ने यसको दोस्रो उद्देश्य हुनेछ।’
‘यो वर्ष कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्ष हो। पुष्पलालले स्थापना गर्नुभएको पार्टी ७५ वर्ष पुगेको छ। पुष्पलालको नाममा निर्मित यो राष्ट्रिय संरचनामा यो अभियान चलाउँदा हामीले हाम्रो इतिहासलाई पनि जोड्न चाहेका छौं। गएको ७५ वर्षमा हामीले के काम गर्यौं। त्यो कुराको हामी सन्देश दिन चाहन्छौं', उनले प्रस्तुत गरेको तेस्रो उद्देश्य थियो।
ज्ञवालीले चौथो उद्देश्य निराशालाई चिर्ने अभियानको रुपमा प्रस्तुत गरे। ‘अहिले जुन खालको निराशाको खेती मौलाउने कोसिस भइरहेको छ। र यो निराशा र असन्तुष्टिलाई हाम्रा परिवर्तनकै विपक्षमा उभ्याउने खालका जुन प्रयास हुँदैछन्’, उनले भने, ‘थुप्रै ठाउँमा समस्या होलान् तर देश अगाडि पनि बढिरहेको छ। निश्चित ठाउँमा कामहरू अगाडि बढिरहेका छन्। ती भइरहेका राम्रा कामहरूलाई उजागर गर्दै यो देशलाई राम्रो बनाउन सकिन्छ, बनाउने शक्ति हामी यहीँ छौँ भन्ने कुराको सन्देश दिने यसको उद्देश्य हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।