काठमाडौं- निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिद-बिक्रीमा पुन: विवाद सुरु भएको छ। एनसेलको ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले बिक्री गरेको भनी सार्वजनिक भए लगत्तै यो विवाद उच्च अदालत पुगेको छ।
उच्च अदालत पाटनले एक आदेश पनि जारी गरेको छ। केही दिनअघि एनसेलले नेपालमा भएको सेयर बिक्री गर्न चाहेको भनी सार्वजनिक भएको थियो।
एनसेलको सेयर बेच्ने निर्णय गरेको मलेसियन कम्पनी आजियाटाको निर्णय विरुद्ध उच्च अदालत, पाटनमा रिट दायर भएको थियो। अधिवक्ता गोपालबादुर रोकायले धितोपत्र बोर्डमा सूचीकृत भएर सेयर बेच्नुपर्ने व्यवस्था नेपालको कानुनमा रहेको तर त्यो नगरी बिक्री गर्न लागेको र गरेको भए बदर हुनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पहिलो सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको हो।
व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो। त्यस विरुद्ध परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।