काठमाडौं- राष्ट्रिय सभाका एक तिहाइ सदस्यका लागि हुन गइरहेको निर्वाचनका लागि आयोगले नयाँ मतभार कायम गरेको छ। बुधबार सार्वजनिक विवरण अनुसार, प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि १९ मतभार कायम भएको छ। यसअघि त्यो मतभार क्रमशः ४८ र १८ थियो।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको कार्यकाल यही फागुन २१ गते सकिँदैछ। उनीहरूको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रिय सभा सदस्यका लागि हुने निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरू र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मत दिन पाउँछन्।
राष्ट्रिय सभा सदस्यका लागि ‘संघीय कानुन बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार फरक हुने’ गरी निर्वाचन हुने व्यवस्था छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा भने मतभारको विस्तृत व्याख्या गरिएको छ।
ऐनको अनुसूची- १ मा उल्लेख गरिए अनुसार, प्रदेश सभाका सदस्यको मतभार निकाल्नका लागि निम्न सूत्र प्रयोग गर्न सकिन्छः
कूल जनसंख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार)/प्रदेश सभा सदस्यको कूल संख्या÷ १०००
त्यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागिः
कूल जनसंख्या (पछिल्लो राष्ट्रिय जनगणना अनुसार)/जम्मा गाउँपालिका र नगरपालिकाको संख्याx२ ÷ १०००
यसअघि २०६८ सालको जनगणना अनुसारको जनसंख्या (२, ६४, ९४, ५०४) लाई आधार मानेर प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ कायम भएको थियो।
जस्तो कि, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २६४९४५०४/१५०६÷१००० = १७.५९ (१८) कायम भएको थियो।
२०७८ को जनगणनाले कुल जनसंख्या २, ९१, ६४, ५७८ कायम गरेको छ। ऐनमै पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसंख्या प्रयोग गर्नुपर्ने भएकाले यसपटक यो संख्या प्रयोग गरेर नयाँ मतभार निकालिएको हो।
जसअनुसार, प्रदेश सभाको हकमा, २९१६४५७८/५५० ÷ १००० = ५३.०२ (५३) मतभार कायम भएको छ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको हकमा, २९१६४५७८/१५०६ ÷ १००० = १९.३६ (१९) कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।