साथीहरु! तपाईंहरुले जुनसुकै माध्यमबाट मसँग सम्पर्क गर्दा पनि सधैंजसो एउटै कुरा भन्नुहुन्छ, ‘ध्यान गरेपछि त आनन्द आउँछ, तनाव, दुःख, कष्ट, चिन्ता हट्छ होला भनेर थालेको, तर उल्टो मनभित्र त भीमकाय अँध्यारो र डरलाग्दो त्रास पो रहेछ। दुर्गाजी, लौन कसरी यसबाट पार पाउने होला ?’
मित्रहरु ! यहाँहरुलाई थाहै छ, केही समयअघि मध्यराति चन्द्रग्रहण लाग्यो। ग्रहणलाई नाङ्गा आँखाले हेर्नु हुँदैन, ग्रहणका बेला घरबाहिर निस्कनु हुँदैन, खानेकुराहरु पनि खानु हुँदैन भन्ने हामीले सुन्दै र पालना गर्दै आएका हौं।
केही समयअघि लागेको चन्द्र ग्रहणको रात मेरो मनमा अनेक कुरा खेलेर निदाउन सकिरहेको थिइनँ। यहाँहरुभित्रको छट्पटी र ग्रहणका विषयमा राति झन् तीव्र रुपले सोच बढ्न थाल्यो। यहाँहरुलाई थाहै छ, ग्रहण लाग्दा विशाल चन्द्र र सूर्यलाई सर्लक्क अँध्यारो छायाले ओझेल पारिदिने गर्छ।
गहिरो ध्यान साधनामा डुबुल्की मार्दा कुनै दिन मलाई भीमकाय ब्ल्याक होलले सताएको स्मरण आयो, ठीक चन्द्रमालाई कालो धब्बाले घेरेझैं। आफूले ध्यान साधनामा अनुभव गरेको त्यही भीमकाय भयरुपी ब्ल्याक होलको ताजा स्मृति चन्द्र ग्रहणका दिन आँखाअगाडि दृश्यका रुपमा नाच्न थाल्यो।
ग्रहण लागेका बेला सूर्य–चन्द्रबाट आउने परमाणु विकिरणहरु अन्यन्तै भयानक र दूषित हुन्छन् भनेर हाम्रा ऋषिहरुले भन्दै आएका हुन्। त्यसैले ग्रहणलाई नाङ्गो आँखाले हेर्न नहुने, खानेकुरा खान नहुने र ध्यान गरेर ग्रहणका दूषित विकिरणहरुबाट बच्न ऋषिहरुले सचेत गराउँदै आएका हुन्। चिकित्सकहरुले पनि ग्रहणको विकिरण रश्मिको प्रभाव आँखा र शरीरमा अन्य संवेदनशील अङ्गमा पर्यो भने रोग लाग्न सक्ने पुष्टि गरिसकेकाले हामी कसैले पनि सीधै ग्रहण हेर्नु हुँदैन।
ऋषिमुनि, साधुसन्त जस्ता हाम्रा पूर्वजहरुले सूर्य र चन्द्रमामा बेलाबखत लाग्ने कालो टाटो अर्थात् ग्रहणको मात्र चर्चा गरेनन्, हाम्रो मनभित्र गढेर रहेको भयानक कालो टाटो अर्थात् ग्रहणको बारेमा पनि चर्चा गरेका छन्, जसलाई युवा पिँढीले पनि बुझ्ने भाषामा ब्ल्याक होल भनौं।
ध्यान साधनाका क्रममा मैले अनुभव गरेको ब्ल्याक होल भयङ्कर कहालीलाग्दो, गहिरो र जड जगत्मा प्रकाशित विषयवस्तुहरु हजारौं औंसीको रातझैं अँध्यारोमा परिणत भएर मसिनो कपालझैं ३–४ इन्च लामो शीरमा झिमिक–झिमिक बल्ने परमाणु तत्त्वहरु सल्बलाउँदै मन्द आवाजमा भयानक त्रासपूर्ण अवस्थाको साक्षात्कार गरेको थिएँ, जसको स्मरण चन्द्र ग्रहणको मध्यरात भइरहेको थियो।
आज विज्ञानले जति पनि उपकरणहरु आविष्कार गरेको छ। ब्ल्याक होलभित्रका परमाणु तत्त्वबाट असङ्ख्य उपकरण निर्माण गरेको हो। यस्ता उपकरणहरु विज्ञानले यो जगत्बाहेक अन्य जगत्मा चलाउन सकेको छैन। यी स्वचालित उपकरणहरु मानिसले आफ्नो अधीनभित्र सीमित राखेका छन्।
त्यसरी नै प्राकृतिक विषय वासनाहरु पनि मायाको अधीनमा रहेका छन्। विज्ञान र अध्यात्मले जड जगत् पनि चेतनामा परिणत हुन्छ भनेको बलियो आधार नै परमाणु तत्त्व हो। विज्ञानले यन्त्रको सहयोगले परमाणुको निरीक्षण र अन्वेषण गर्यो भने अध्यात्मले नाङ्गो आँखाले परमाणु तत्त्वको विशाल पुञ्ज नै ब्ल्याक होल हो भन्यो। मायारूपी प्राकृतिक साधन स्रोतबाट यस्ता परमाणु तत्त्व र ब्ल्याक होलको निर्माण हुन्छ भने मनुष्यको अस्तित्वभित्रबाट पनि परमाणु र ब्ल्याक होलको अवधारणा बन्छ। लाखौं प्राणीमध्ये मनुष्यमा मात्र यसको साक्षात्कार र निवारण गर्न सक्ने क्षमता हुन्छ। मनुष्यको खानपिन, कर्म र कर्मफलको आधारमा परमाणु निर्माण हुन्छ, जसलाई पाप र धर्म भनियो। प्राकृतिक साधन स्रोतबाट उपलब्ध उपभोग्य वस्तुहरु तामसी, राजसी र सात्विक त्रिगुणले युक्त छन्। यी उपभोग्य वस्तुहरु जथाभावी मनोमानी ढङ्गले उपयोग गरे शरीर र मनलाई चञ्चल बनाइदिन्छ। चञ्चल मनले बाध्य भएर कर्मलाई अविद्यातिर धकेलिदिन्छ। अविद्याले चित्तलाई विखण्डित गरी मनको कालकोठरीमा अन्ततः मनले नै बन्धक बनाइदिन्छ। अविद्याका कारण चित्तले कर्मको फल भोग्नुपर्छ। यहाँ कुनै पूर्वजन्मको कर्म, संस्कारको भोगाइ हैन, यही जन्मको अविद्याका कारणले भोग भोग्नुपर्दछ। रमाइलो पक्ष मनुष्यको कर्मअनुसार ८४ लाख योनिको भोग प्रकृतिले निर्धारण गरिदिएको हुन्छ। ८४ लाख योनिमा पाप कर्मको भोग सकेर मनुष्य योनिमा उसले जन्म लिएको हुन्छ। मनुष्य योनि प्राप्त गर्नु मायाबाट पुण्य प्राप्त गर्नु हो। प्राकृतिक साधनस्रोतबाट उपलब्ध उपभोग्य विषय वासनाहरु उपभोग गरेबापत अविद्या जन्मने हो। अविद्याको कर्मबाट परमाणु तत्त्व बन्ने हो, ती परमाणुको पुञ्ज ब्ल्याक होल हो। जीवित अवस्थामा प्राकृतिक साधनस्रोत जीवको चित्तले ग्रहण गरेको हुनाले मृत्यु भएपछि पनि चित्तबाट ती नहटेसम्म जीव ब्ल्याक होलमै रुमल्लिन्छ। कर्मको फल चित्तले भोगिरहनुपर्छ। चित्त मायाको अधीनमा आएपछि चित्त जीवको रुपमा मायाले प्राकृतिक योनिको कोखमा जन्म लिने हो।
यसरी अनेकौं दुःख, कष्टसहित जीव जन्तु र प्राणीहरुको रूपमा जन्म हुन्छ। विज्ञानले स्वचालित उपकरणहरुलाई नियन्त्रणमा लिएझैं मायाले जीवलाई ८४ लाख योनिमा घुमाइरहन्छ। सबै कर्मका भोगहरु मायाभित्र भोगिसकेपछि मात्र मनुष्य योनिमा आउने शास्त्रहरुमा उल्लेख छ।
यहाँ भौतिक ग्रहण र आत्मिक ग्रहणको प्रसङ्गलाई जोड्न खोजेको हुँ। भौतिक ग्रहण अर्थात् सूर्य र चन्द्रमामा लाग्ने कालो टाटोरुपी ब्ल्याक होलले भयानक हानिकारक विकिरणहरु प्रकाशका रुपमा फाल्दो रहेछ। हाम्रो मृत्युपछिको ब्ल्याक होल वा ८४ लाख योनि कति दुःख, कष्ट र भययुक्त छ भनी अनुमान पनि गर्न सकिँदैन। यसको निवारण र विकल्प नै ध्यान साधना हो। ध्यान साधनामा कठिन रुपले तप्दै इन्द्रियभन्दा पारि इन्द्रियातीत अवस्था, जहाँ आकाररहित निराकार ज्ञानगङ्गाको आकाश मार्गमा रमण गर्न सक्ने सामर्थ्य भए चित्त ब्ल्याक होलमा भड्किनु पर्दैन, न त ८४ लाख योनिको नै भोग भोग्नुपर्छ। साधक चित्त निर्मल भएर निर्वाण पथ चुम्न सफल हुनेछ, त्यसपछि न जन्म हुन्छ, न त मृत्यु नै। जीव अजर अमर भएर रहनेछ।
त्यसैले मित्रहरु! गहिरो ध्यानका बेला ज–जसले मनमा डरलाग्दो त्रास र भीमकाय अँध्यारो अर्थात् ब्ल्याक होल देख्नुभएको छ। उहाँहरु साँच्चै नै भाग्यमानी साधक हुनुहुन्छ। त्यो ब्ल्याक होललाई नडराईकन अबोध बालकले झैं टुलुटुलु हेर्दै जानुहोस्– ‘एक दिन पक्कै पनि तपाईंहरुको चित्त पूर्णतः निर्मल हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।