काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन्।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौंमा २ दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्।
‘नेपालमा लगानीका अवसर बढ्दै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्दछु,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले आर्थिक विकासको तीव्र चाहना बोकेको नेपालमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गरे।
‘नेपाली विद्युत्को बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत् व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्त्वपूर्ण अवसर खोलेको छ। म नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे।
राष्ट्रपति पौडेलले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्ड भएको बताए। ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो। साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन्। तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्,’ उनले भने।
नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।