काठमाडौं– मुख्यमन्त्री केदार कार्कीले शुक्रबार आफ्नो सरकारमा माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री थपेपछि एमाले सरकारबाट बाहिरिने भएको छ।
कार्की एमालेका ३९ र कांग्रेसको ८ सांसदको समर्थनमा मुख्यमन्त्री भएका थिए। कार्कीले आफूहरूसँगको सहमति तोडेका कारण आफूहरू पछि हट्ने बताउँछन् एमाले सांसद तिलकुमार मेन्याङ्बो।
‘कार्कीजीले हामीसँगको सहमति तोड्नुभयो। हामी सरकारमा रहँदैनौं। भोलि बैठक बसेर अरू निर्णय लिन्छौं,' उनले नेपाल लाईभसँग भने।
कार्की असोज २७ गते मुख्मन्त्री भएका थिए। शपथ लिएलगत्तै उनले एमालेका राम मगर र कांग्रेसबाट शमसेर राईलाई मन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री केदार कार्कीले आज एकीकृत समाजवादी पार्टीबाट कमल जवेगु र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।