काठमाडौं- सभामुख देवराज घिमिरेले संसद्को चालु अधिवेशनमा संसदीय कामकारबाहीले गति लिएको बताएका छन्। बिहीबार संसद् अधिवेशन अन्त्य हुनुअघि बसेको प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै उनले समितिहरूले सक्रियतापूर्वक काम सुरु गरेको बताए।
‘प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तरलाई नियमित र व्यवस्थित गर्ने अभ्यास सुरु गरिएको छ। जनप्रतिनिधिको सर्वोच्च थलो संसद्लाई आगामी दिनमा लोकतन्त्रलाई थप योगदान दिन सक्ने गरी अभ्यास गर्न, राज्य सञ्चालनको कार्यलाई थप व्यवस्थित र पारदर्शी बनाउन हामी सबै गम्भीर हुनैपर्ने कुरा राख्न चाहन्छु’, उनले भने।
सभामुख घिमिरेले चालु अधिवेशन अन्त्य हुँदै गर्दा सांसदहरूले बिहीबार राखेका समीक्षात्मक अभिव्यक्तिप्रति आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ।
‘हामीले चालु अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरू प्रभावकारी बनाउँदै लैजानुपर्दछ’, उनले भने, ‘संसद् प्रभावकारी बनाउने दायित्व सरकार, संसद्को नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरूको हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।