काठमाडौं– नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक हिउँदे अधिवेशनबाट पारित हुने बताएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रिया टुंगो लगाउने सहमति समितिमा भइसकेको र संसद्बाट भने अर्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति जुटेको बताए।
उनले संक्रमणकालीन न्याय नटुंगिँदा विश्वमाझ विभिन्न खाले प्रश्नहरु उठेको बताए। उनले विश्वमाझ उठेका विभिन्न प्रश्नलाई अन्त्य गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘शान्ति प्रक्रिया टुंगो लागेको छैन। यसलाई टुंगो लगाउनुपर्नेछ। यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रश्न खडा भएका छन्। पीडितहरुको परिपूरणका कुरा छन्। आदि कुरा रोकिएको छ। यसलाई हर हालतमा टुंगोमा पुर्याउनुपर्छ भन्ने सहमति भएको छ। एक खालको सहमति भएको छ। यो दिने, यो लिने भन्ने प्रसंग उठेको छैन। समितिमा टिआरसी बिलको बारेमा सहमति भइसकेको छ। अब यो फुल हाउसबाट हिउँदे अधिवेशनमा पारित गर्ने सहमति भएको छ।’
प्रवक्ता सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु बहुआयामिक महत्त्वको विषय भएको बताए। उनले संयुक्त राष्ट्रसंघका महासचिव अहिले नेपाल आउनु र विश्व शान्तिको अपिल गर्नु महत्त्वपूर्ण भएको दाबी गरे।
उनले भने, ‘संयुक्त राष्ट्रसंघको महासचिव नेपाल भ्रमणमा आउनुभयो। यो बेलामा आउनु भनेको धेरै महत्त्वपूर्ण कुरा हो। अहिले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक चलिरहेको बेलामा नेपाल आउनु बहुआयामिक महत्त्व छ। बहुआयामिक सन्देशको इस्यु हो। यसले के सन्देश दियो भने नेपाल बुद्ध जन्मेको देश हो, बुद्ध जन्मेको देश भएको विश्व शान्तिको अपिल गर्नुभयो। बुद्ध जन्मिएकै ठाउँबाट गर्नुभयो। यसको धेरै ठूलो महत्त्व छ। बुद्ध भूमिमै आएर शान्तिको सन्देश पठाउनु ठूलो कुरा हो।’
प्रवक्ता सापकोटाले महासचिव गुटेरेसको भ्रमणले शान्ति प्रक्रियाका बाँकी काम मौलिक ढंगबाट टुंग्याउनुपर्ने र पीडित पक्षलाई विश्वासमा लिएर टुंगोमा पुर्याउन सहयोग पुगेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।