काठमाडौं– जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले देश टाइटनिक बोट जस्तै डुबिरहेको टिप्पणी गरेका छन्।
बिहीबारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको आरोपसमेत लगाए। प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्नेकुरा राम्रो नभएकोसमेत टिप्पणी गरे।
उनले देशमा जनताका लागि लोकतन्त्र नभएको भन्दै अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्नुपर्ने अवस्था भएको र यो मान्न नसकिने दाबी गरे।
चियापान समारोहमा बोलाएर नयाँलाई सक्ने भाषण दिनु ठूला दलको लाचारीपन भएको भन्दै उनले आफूहरुले काम गर्नेभन्दा नयाँलाई गाली गर्ने देखिएको बताए।
‘एउटा जनप्रतिनिधि आवाज उठाउँदा पक्राउ पर्छ भने यो देशमा कहाँ छ लोकतन्त्र? प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ पर्छ कोही भने यो देशमा जनताका लागि कहाँ छ लोकतन्त्र?,’ उनले भने, ‘सत्ता पक्षकै मान्यज्यूको लागि यहाँ लोकतन्त्र छैन। आम जनताको लागि लोकतन्त्र कहाँ छ?’
संशोधन के हुने? कुन विधेयक पारित हुने त्यो त अँध्यारो कोठामा तीन जना नेताले गर्ने गरेको भन्दै उनले आपत्ति जनाए। ‘तीन नेता सार्वभौम सत्ता सम्पन्न भए कि यो संसद्? यस्तै संसद् चल्ने हो भने व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार छन्,’ उनले भने, ‘३४ वर्षदेखि कहाँ पुगिसक्यो देश? त्यो हेरेका छैनौं।’
नयाँ दलहरुलाई चियापानमा बोलाएर गाली गर्ने शैलीप्रति पनि उनले आपत्ति जनाए। ‘नयाँ शक्तिलाई लक्षित गर्छौं, चियापान समारोहमा बोलाउँछौँ र त्यहाँ भन्छौं यी नयाँलाई त हामी भष्म पार्दिन्छौं भन्छौं कस्तो खालको आक्रोश हो?’, उनले प्रश्न गर्दै भने, ‘आफूभित्र समीक्षा गर्न सक्नुहुन्न। जनताको आवाज उठेपछि त्यो सुन्नुपर्छ। जनतको कुरा उठेपछि बत्ती बल्छ, लामो भाषण गर्दा केही हुँदैन थियो। देश टाइटनिक डुबे जस्तै डुब्दैछ। यो डुबाउने चालकहरु नै हुन्। जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेका छन्। आफू सुरक्षित रुपमा टाइटनिक बोटमा जोगिरहेका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।