काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको सुरुवात गरेको छ।
मर्मतको सुरुवात बिहीबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल भारत दशगजामा रहेको सीमा स्तम्भबाट गरिएको हो।
सीमा स्तम्भ मर्मतको सुरुवात गर्दै नायब महानिरीक्षक शाहले दुरुस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रुपमा सीमाको सुरक्षा गर्न सहज हुने र यसले सीमाको सुरक्षामात्र नभई सीमा अपराध नियन्त्रण गर्नका साथै दुई देश बीचको सम्वन्ध थप मजबुद बनाउन योगदान पुर्याउनेसमेत बताए।
उनले नेपाल सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भइसकेकाले आगामी दिनहरुमा निरन्तर रुपमा मर्मत कार्य सञ्चालित रहने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरुको सहयोग अपरिहार्य रहेकोसमेत बताए।
उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोगबिना प्रभावकारी रुपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महसुस गरी ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरु गरिसकेको र सोहही अन्तर्गत गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांश वडा अध्यक्षहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्ने चरणमा रहेकोसमेत जानकारी गराए।
नेपाल भारत Boundary Working Group (BWG)को पाचौं बैठकमा सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरुमध्ये जोर नम्बरको सीमा स्तम्भहरु भारतीय सशस्त्र सीमा बल ९क्क्द्य० ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितिमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत सम्भार गर्ने निर्णय भएको थियो।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ साउन १९ गतेको निर्णय अनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरु सशस्त्र प्रहरी बल नेपाललाई मर्मत सम्भार गर्ने जिम्मेवारी प्राप्त भए बमोजिम मर्मतको कार्य सुरु गरिएको हो।
पहिलो चरणमा मधेश प्रदेशमा रहेका १ हजारभन्दा बढी सीमा स्तम्भहरुको मर्मत हुनेछन्। यसैगरी आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरुमासमेत सीमा स्तम्भहरुको मर्मत कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।