काठमाडौं– नेकपा एमालेका सांसद विष्णु प्रसाद पौडेल र माओवादी केन्द्रका सांसद वर्षमान पुनकाबीचमा जनयुद्ध दिवसको बिदालाई लिएर संसद्मा जवाल जवाफ भएको छ।
एमालेका तर्फबाट समय लिएर बोलेका पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले जनयुद्ध दिवसका नाममा दिइएको बिदा स्वीकार्य नहुने भन्दै चेतावनी दिए।
सांसद पौडेलले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रुपमा बिदा दिए लोकतन्त्रको सवलीकरण नहुने भन्दै सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसद्मा ल्याएर पारित गर्न चुनौतीसमेत दिए।
‘फागुन १ गते दिवस मनाएर देशमा कुनै लोकतन्त्रको सवलीकरण हुन सक्दैन। नेपालको लोकतान्त्रिक छवि अन्तर्राष्ट्रिय जगतमा स्थापित हुन सक्दैन। यदि यो सरकारलाई फागुन १ गते युद्ध दिवस मनाउनैपर्छ भन्ने लाग्छ। उसलाई यो ठीक हो भन्ने लाग्छ भने म सरकारलाई चुनौतीका साथ भन्न चाहान्छु,’ पौडेलले भने ‘सरकारले फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव यो सदनमा प्रस्तुत गरेर पारित गर्ने आँट गरोस्। त्यो आँट छ सरकारसँग? यो सरकारसँग फागुन १ गते दिवस मनाउनुपर्छ, बिदा गर्नुपर्छ जसमा मनाउनुपर्छ भन्ने प्रस्ताव यो सदन समक्ष प्रस्तुत गरोस्।’
उनले नेपाली जनताका प्रतिनिधिले त्यसका बारेमा निर्णय दिने भन्दै नेपाली जनताका प्रतिनिधिहरुका सामु यो सदनमा परीक्षण गर्न सरकार तयार छ? भनी प्रश्न गरे। उनले सरकारसँग यसको आँट नभएको आरोप लगाउँदै यो गलत निर्णय भएकाले हटाउन माग गरे।
उनीपछि संसद्मा बोल्न पुगेका माओवादीका सांसद एवं उपमहासचिव वर्षमान पुनले पौडेललाई जवाफ दिए। उनले पौडेल नै मन्त्री रहेको मन्त्रिपरिषद्ले पारित गरेको होइन? भन्दै प्रतिप्रश्न गरे।
पुनले नेकपा (एमाले) सरकारमा भएका बेला नै फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका छन्। एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद्ले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको पुनले स्मरण गराए।
पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र नेपाली कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरेकोप्रति सहमति जनाउँदै यो निर्णय गर्दा एमाले र माओवादीको सरकार रहेको कुरा पुनले स्मरण गराए। पुनले नेताहरूले संस्कार र संस्कृति सुधार गर्नुपर्ने बताउँदै जनयुद्ध दिवस मनाउने निर्णय आफू उपप्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले गरेको नबिर्सिन आग्रह गरे।
‘माघ १९ गते त्यो निर्णय भएको रहेछ। पूर्ववक्ता माननीयज्यू त्यतिबेला उपप्रधानमन्त्री हुनुहुँदो रहेछ। त्यही क्याबिनेटले गरेको रहेछ,’ उनले भने, ‘हामी आफैं गर्ने अर्को ठाउँमा जाँदा त्यही फेरि अर्कै हुने कसरी हुन्छ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।