काठमाडौं– नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको काम–कारबाहीका कारण संसद्को भूमिका प्रभावकारी हुन नसकेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले संसद्को भूमिकालाई प्रभावकारी बनाउन नदिएको बताएका हुन्। उनले चालू अधिवेशनमा संसद् प्रभावकारी हुन नसक्नुमा सरकारको दृष्टिकोण र गतिविधिहरु जिम्मेवार रहेको बताए।
उनले भने, ‘यो सरकारको काम–कारबाही प्रभावकारी हुन नसक्नुमा मुख्य रुपले सरकार जिम्मेवार छ। सरकारको दृष्टिकोण जिम्मेवार छ। सरकारका गतिविधिहरु जिम्मेवार छन्। कस्तोसम्म अवस्था सिर्जना भयो भनेदेखि मेरो दाबी के छ भन्दाखेरी सरकारले यो सदनलाई प्रभावकारी बन्न दिएन। प्रभावकारी बन्छ कि भन्ने चिन्ताबाट सरकार भयातुर भयो।’
उनले सरकारमा संसद् प्रभावकारी हुने हो कि भन्ने भय देखिएको आशंकासमेत व्यक्त गरे। सांसद पौडेलले संसारभर संसद् प्रतिपक्षको हो भन्ने मान्यता रहेको भन्दै प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्ने बताए।
उनले सरकारले प्रतिपक्षको आवाज नसुनेका कारण प्रतिपक्षले वेल घेर्नुपर्ने अवस्थासम्म आउन पुगेको दाबी गरे।
उनले भने, ‘दुनियाँभरी मानिन्छ सदन प्रतिपक्षको हो। प्रतिपक्षले जब उभिएर बोल्छ, सत्ताले ध्यानपूर्वक सुन्नुपर्छ। त्यहाँ व्यक्त भएका विचारहरुको सच्चाइलाई ग्रहण गर्नुपर्छ। ठीक समयमा ठिक ढंगले सम्बोधन गर्नुपर्छ। र सदनको आवाज सरकारले सुन्छ भन्ने सन्देश दिनुपर्छ। तर जगजायर छ कि सदनमा जायज मागहरु भन्नका लागि, सुनाउनका लागि ति मागहरु मन्जुर गर्ने ठाउँमा सरकारलाई पुर्याउनका लागि लागि, सत्तापक्षलाई पुर्याउनका लागि प्रतिपक्षले आवाजमात्र उठाएर पुगेन, त्यसको निमित्त वेल घेर्नुपर्ने अवस्थासम्म सिर्जना भयो।’
प्रतिपक्षको आवाज सुन्नुपर्छ र त्यसको सच्चाइहरुलाई ग्रहण गर्नसके मात्रै सदन ग्रहणको स्थिति अन्त्य गर्न सकिन्छ भन्ने सत्यबोध सरकारलाई हुनुपर्ने बताए।
सांसद पौडेलले संसद्मा सांसदहरुले उठाएका जनसरोकारका विषय सम्बोधन गर्न सरकारले कुनै कदम नचालेको आरोप लगाए। सरकारले सांसदहरुको आवाजको जवाफ दिन आवश्यकतासमेत महशुस नगरेको उनको भनाइ छ।
सांसद पौडेलले फागुन १ गतेका दिनलाई जनयुद्ध दिवसको रुपमा बिदा दिए लोकतन्त्रको सवलीकरण नहुने दाबी गरे। उनले सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने प्रस्तावलाई संसद्मा ल्याएर पारित गर्न चुनौतीसमेत दिए।
उनले सरकार प्रतिपक्षलाई दोष लगाएर शान्ति प्रक्रिया टुंग्याउन नचाहेको आरोपसमेत लगाए। वर्तमान सरकारको नेतृत्वमा देश अगाडि बढ्न नसक्ने उनले ठोकुवा गरे। यस्तै वर्तमान सरकारको नेतृत्वमा सुशासन र समृद्धि हासिल हुन सक्दैन भन्ने छर्लङ्ग भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।