काठमाडौं– नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु टुंग्याउन सबै राजनीतिक दलहरु मिल्नुपर्ने टिप्पणी गरेका छन्।
बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा एक किसिमको सकारात्मक छलफल भएको बताए।
उनले अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँ आएको बताए। संक्रमणकालीन न्यायसँग सम्बन्धित कामहरु पीडितमैत्री बनाइ टुंग्याउनुपर्ने उनको भनाइ छ। उनले सबै राजनीतिक दलहरुले सहकार्य गरेर अघि बढे पीडितहरुलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने बताए।
‘शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्यायसँग सम्बन्धित काममा हामी अलिकति अघि बढेका छौं। त्यसमा अन्तर्राष्ट्रिय समर्थन रहने जो उद्घोष भएको छ। त्यसमा सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै नै एक ठाउँ नजिक आउँदै गरेका छौं। यद्यपि विधेयक अहिले पनि समितिमा छ। त्यसमा सहमतिको प्रयत्न भएको छ,’ उनले भने, ‘सहमति किन बन्न सकेन भन्ने सबैलाई थाहा छ। पीडितमैत्री बनाउनुपर्छ। भन्ने सबैलाई थाहा छ। द्वन्द्वरत पार्टीहरु सबै बसेका छौं, सबै सँगै चुनाव लडेका छौं। पार्टी एकता पनि गरेका छौं। तर पीडितहरु आज पनि प्रश्न छ? सबै एउटै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ? यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन। यसमा सबैले सहकार्य गरेर पनि जानुपर्छ।’
उनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।