काठमाडौं- प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकाश सांसदहरुले समसामयिक विषयमा प्रश्न उठाएका छन्। बजेट अधिवेशनको अन्तिम दिन बिहीबार बोल्ने सांसदहरुले उच्चस्तरीय छानबिन आयोगदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी भएको भनी गलत प्रचार गर्नेमाथि कारबाहीसम्मको कुरा उठाए।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिजुला रायमाझीले दुग्ध किसानहरुको करिब ७ अर्ब रुपैयाँ रकम भुक्तानी नभएको भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरिन्।
प्रतिनिधि सभा सदस्य रायमाझीले दूध किसानहरुले सरकारी निकाय र निजी डेरीहरुबाट करिब ७ अर्ब रुपैयाँ नपाएका भन्दै तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेकी हुन्। उनले दुध, दुग्धजन्य पदार्थमा नेपाल आत्मनिर्भर भएको भन्दै यसको आयातलाई रोक्न पनि माग गरिन्। उखु किसानको बक्यौता रकम पनि भुक्तानी गर्न पनि उनले सरकारसँग आग्रह गरिन्।
त्यस्तै प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले सडक दुर्घटना निरन्तर बढिरहेको भन्दै नियन्त्रणका लागि नियमनकारी निकाय आवश्यक रहेकाले सडक सुरक्षा परिषद् निर्माण गर्न माग गरिन्। उनले असुरक्षित सडक, सवारी साधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरबाहीका कारण दुर्घटना हुने गरेको भन्दै सडक दुर्घटनालाई कम गर्नका लागि छुट्टै नियमनकारी निकाय आवश्यक भएकोले सडक सुरक्षा परिषद् निर्माणका लागि सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधि सभा सदस्य विनिताकुमारी सिंहले आरती शाहको न्यायको निम्ति सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधि सभा सदस्य बिना लामाले तिहारमा चिनी आवश्यक पर्ने भएकाले जनतालाई सुपथ मूल्यमा चिनी उपलब्ध गराउन सरकारलाई आग्रह गरिन्।
प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका लागि पहलकदमी लिन सरकारसँग आग्रह गरे। उनले काँकडभिट्टा नाका खुलाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य शान्ति बिकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गराई कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधि सभा सदस्य शोभा ज्ञवालीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीको कम्बोडियामा लगानी भएको भ्रम छरिरहेको भन्दै प्रसाईंलाई कारबाही गर्न माग गरिन्।
प्रतिनिधि सभा सदस्य सरिता भुसालले नेपालको घिउको अन्तर्राष्ट्रिय बजारमा माग भइरहेको भन्दै घिउलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधि सभा सदस्य शान्ति चौधरीले बस र प्लेन भाडा बढेको भन्दै समयमै नियन्त्रण गर्न सरकारलाई आग्रह गरिन्।
प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले मुक्त कमैया अहिले पनि भूमि र आवासविहीन भइरहेको भन्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन्।
प्रतिनिधि सभा सदस्य सुशीला थिङले आरती साहको न्यायको निम्ति माइतीघर मण्डलामा अनसनरत व्यक्तिहरुलाई प्रहरीले दमन गरेको भन्दै यस घटनाप्रति छानबिन गर्न समिति गठन गर्न माग गरिन्।
प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले ०४७ सालपछि राज्यको माथिल्लो तहमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न माग गरे।
बैठकको शून्य समयमा प्रतिनिधि सभा सदस्य सञ्जयकुमार गौतमले एक मिनेट उभिएर मौन धारण गरेका थिए। उनले आफूलाई उपलब्ध भएको समयमा विरोध स्वरुप केही नबोली एक मिनेट उभिएर बसेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।