काठमाडौं- प्रतिनिधि सभाको बिहीबारको बैठकका क्रममा बोल्ने पालो आयो, कांग्रेस सांसद सञ्जय गौतमको। सभामुख देवराज घिमिरेले समय दिएसँगै उनी आफ्नो स्थानबाट उठे। तर बोलेनन्।
सांसद गौतमले माइक पनि उचालेनन्, कुनै हाउभाउ पनि प्रदर्शन गरेनन्। केबल उभिइरहे। केही छिनमै सभामुख घिमिरेले स्मरण गराएको शैलीमा भने, 'माननीय सदस्यलाई बोल्ने समय दिइएको छ।' तर पनि गौतम बोलेनन्।
उनी नबोलेपछि एमाले तथा रास्वपाका सांसदहरूले टेबल ठटाए, समर्थनको शैलीमा। गौतमकै पार्टी कांग्रेसका सांसदहरू भने मुसुमुसु हासेको देखिन्थ्यो।
उनले नबोलेरै एक मिनेटको समय बिताएपछि सभामुख घिमिरेले अर्की सांसद हर्कमाया विश्वकर्मालाई समय दिए।
गौतमले आफूले किन मौन बस्नुपरेको हो भनेर विषय खुलाएका छैनन्। यद्यपि, सदनमा कुनै विषयमा विरोध जनाउनुपरे वा असन्तुष्टि व्यक्त गर्नुपर्ने सांकेतिक रुपमा मौन बस्ने चलन यसअघि पनि देखिएको थियो।
गत चैत २४ गतेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्नका लागि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई समय दिएका थिए। सदनमा बोलिरहनेमध्येका एक सांसद ढकालले ‘सम्माननीय सभामुख महोदय’ भन्दै सम्बोधन सुरु गरे। तर त्यसपछि २१ सेकेन्ड जति मौन बसे। त्यसपछि मात्रै उनी बोले र आफू मौन रहनुको कारण पनि खुलाए।
त्यतिबेला उनको भनाइ थियो, ‘यो सरकारले हामी माननीयहरुले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ। धन्यवाद।’
त्यतिअघि २०७९ माघ ५ गते जनमञ्च पार्टीका सांसद सीके राउतले रोष्ट्रमबाट मौनधारण गरेका थिए। उनले माघ ५ गते बलिदान दिवस भएको स्मरण गराउँदै एक मिनेट मौनधारण गरेका थिए। त्यसक्रममा उनले अन्य पार्टीबाट पनि शहीदलाई सम्मान दिनका लागि उठ्नका लागि आग्रह गरेका थिए। त्यसक्रममा कतिपय पार्टीका सांसदहरू उठेका थिए। गृहमन्त्री रवि लामिछाने पनि उठेका थिए। यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उठेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।