काठमाडौं- मुगुको मन्दु गाँउमा आमासहित दुई छोरा र एक छोरीको हत्या भएको छ। छायानाथ रारा नगरपालिका- ६ मन्दु गाउँकी २६ वर्षिया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, एक वर्षीय छोरा रहर बोहोरा र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।
शुक्रबार बिहान ११ बजे खबर पाउना साथ घटनास्थलमा विस्तृत विवरण बुझ्न प्रहरी नायव उपरीक्षक थापाको नेतृत्वमा प्रहरी पुगेको थियो। घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक आमा श्रीदेवी बोहोरा छोराछोरी सहित ७ गते बिहान दशैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए। ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको अनुमान गरिएको छ।
९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिएपछि छिमेकीहरुले बिहानै खेतबारीमा काम गर्न गएका होलान् भन्ने सोचे पनि १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि गाउँलेले फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै फर्केको जानकारी दिएपछि शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जना मृत अवस्थामा फेला परेका थिए।
मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्। हत्या कसले र किन भयो भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान गरी हत्यारा पत्ता लगाएर कानुनको कठघरामा उभ्याइने प्रनाउ थापाले प्रतिवद्धता जनाए। हत्या गरिएका चारै जनाको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ। घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पूर्वमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।