लुवाण्डा– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरबीच भेटवार्ता भएको छ।
अन्तर व्यवस्थापिका संघ(आइपियु)को १४७औं महासभाका क्रममा एङ्गोलाको संसद् भवनमा बिहीबार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बनाउन दुई देशका संसद र संसदहरुको महत्त्वपूर्ण भूमिका रहेको बताए।
‘नेपाल र आयरल्याण्डबीचको सम्बन्ध प्रगाढ बढाउन दुई देशका संसद र संसदहरुको महत्वपूर्ण भूमिका रहेको छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘संसदीय अनुभवको आपसी आदानप्रदान मार्फत् संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफना नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने प्रक्रियालाई सवल बनाउने अवसर हाम्रोसामु रहेको छ।’
उनले दुई देशकाबीचमा यसअघि भएका भ्रमणको स्मरण गर्दै आगामी दिनमा हुने भ्रमणले सम्बन्ध प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले नेपालमा हिमाल आरोहण र पदयात्रा पर्यटनमा लोकप्रिय भएकाले उल्लेख्य संख्यामा पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन सक्दा त्यसबाट नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भेटवार्ताका क्रममा आयरल्याण्डका माथिल्लो सदन सिनेटका अध्यक्ष जेरी बुटिमेरले दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताए।
नेपालमा हिमाल आरोहण र पदयात्राका लागि आयरल्याण्डका धेरै नागरिक इच्छुक रहँदै आएको बताउँदै आगामी दिनमा पर्यटकलाई नेपाल भ्रमणका लागि उत्प्रेरित गर्न आवश्यक रहेको बताए।
आयरल्याण्डमा बस्ने नेपालीहरुले त्यहाँको औषधि उद्योग र स्वास्थ्य क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै त्यसका लागि धन्यवाद पनि दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।