काठमाडौं– भारत सरकारले नेपाललाई ९५ हजार टन गैर बासमती वर्गको अरुवा चामल (नन् बासमती ह्वाइट राइस) दिने भएको छ। भारत सरकारले एक सूचना जारी गर्दै नेपालसहित सात देशलाई कोटा वितरण गरेको जनाएको छ।
नेपाललाई चामलको आवश्यक हुने समयमा निर्यातमा प्रतिबन्ध लगाएको भारतले नेपालमा पर्याप्त मौज्दात रहदा यस्तो घोषणा गरेको हो।
चामल सहयोग पाउनेमा नेपालसहित क्यामरुन, आइभरी कोस्ट, मलेसिया, फिलिपिन्सलगायत देशका लागि कोटा तोकेर चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको जनाएको छ। तर, आधिकारिक रुपमा नेपाल सरकारलाइ पत्र पठाएको छैन।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार भारतले अहिलेसम्म लिखित रुपमा सूचना नेपाल सरकारलाई प्राप्त नभएको बताए।
उनका अनुसार अहिले नेपाललाई गैर बासमती अरुवा चामल आवश्यक पर्दैन। अहिले नेपालमा नयाँ चामल उत्पादन हुने समय भएका कारण गैर बासमती वर्गको चामलको आवश्यकता नभएको उनको भनाइ छ।
नेपालमा अभाव भएको समयमा भारतले प्रतिबन्ध लगाएको र अहिले यो वर्गको चामलको अभाव खासै नभएको खण्डमा फुकुवा गर्नाले खासै अर्थ नलाग्ने मन्त्रालयको दाबी छ।
भारतले सन् २०२३ मा नेपाललाई ६ लाख टन धान आयात गर्न पाउने गरी कोटा दिएको थियो। झापा, मोरङका किसानले धान बिक्री नभएको भन्दै सरकारलाई गुनासो गरिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।