लुवाण्डा– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आणविक हतियार निर्माण र त्यसको जथाभावी प्रयोग विवेकहीन काम रहेको बताएका छन्।
एङ्गोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ(आइपियु)को १४७औं महासभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मानव जातिले शान्ती र न्यायको लागि नभई शक्ति प्राप्तिको लागि मानवजातिकै संहार हुने गरी सैन्य, सामरिक र आणविक अश्त्रमा सबैभन्दा धेरै खर्च गरेको विषय जायज हुन नसक्ने उनको भनाइ थियो।
‘विज्ञान र प्रविधिको विकास सुन्दर पृथ्वी र मानवजातिको हित र न्यायका लागि हुनुपर्नेमा क्षणभरमा मानवजाति मात्र हैन पृथ्वीको नै आस्तित्व समाप्त हुने गरि आणविक शस्त्रअश्त्र निर्माणमा प्रयोग भइरहेको छ, जुन विवेकहीन कार्य हो, यो जायज छैन,’ उनले भने।
शक्ति सम्पन्न राष्ट्रले गरिब र कमजोर राष्ट्रहरु माथि विभिन्न बहानामा गर्ने आक्रमण, थिचोमिचो र दमन शान्ति तथा न्यायको लागि खतरा बनेको उनले बताए। ‘तसर्थ हाम्रा प्रयासहरू शस्त्रास्त्र उत्पादन, प्रयोग र युद्धको लागि सैन्य शक्तिमा गरिने खर्च ठूलो मात्रामा कटौती गरेर न्याय र शान्तिको लागि खर्च गर्ने वातावरण निर्माण गर्ने तर्फ केन्द्रित हुनुपर्छ।’
साथै उनले नेपालको संघीय संसद्ले दिगो विकास लक्ष्यलाई केन्द्रविन्दुमा राखेर अघि बढेको बताएका छन्। उनले संसद्मा आउने विधेयकहरूलाई दिगो विकास लक्ष्यको दृष्टिकोणबाट मापन गरेर तिनीहरूको औचित्य परिक्षण हुँदै आएको बताए।
उनले नेपालले दिगो विकास लक्ष्यहरूलाई मूलभूत रूपमै आन्तरिकीकरण गरेको बताउँदै संविधानको प्रस्तावनामै नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षालाई उल्लेख गरिएको छ बताए।
अध्यक्ष तिमिल्सिनाले विश्वका ज्वलन्त समस्याहरूको समाधान गर्दै दिगो र समुन्नत भविष्य निर्माण गर्न शान्ति र न्याय कायम गर्नु र हाम्रा संस्थाहरूलाई खुला, प्रभावकारी, पारदर्शी, समावेशी र प्रतिनिधिमूलक बनाउनु अपरिहार्य भएको कुरामा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।