काठमाडौं– वरिष्ठ संगीतकार गोपालनाथ योगीको निधनले नेपाली संगीतमा अपुरणीय क्षति पुगेको छ। उनी नेपालका एक मात्रै बेलावादक थिए। योगीले लामो समयसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा काम गरेका थिए। केही समयदेखि बिरामी रहेका योगीको २०८० असोज २२ गते मा निधन भएको हो।
विक्रम संवत् १९९२ माघ ४ गते पाल्पामा जन्मेका योगीले काठमाडौंलाई कर्मथलो बनाएका थिए। म्युजिकमा स्नातकोत्तर गरेका उनले रेडियो नेपाल तथा रोयल नेपाल एकेडेमीमा संगीत निर्देशक भएर काम गरेका थिए।
शास्त्रीय संगीतका ज्ञाता योगीले मौलिक सिर्जना पनि गरेका थिए। रेडियो नेपालबाट बज्ने बिहानीको शंखध्वनि (जुन हालसम्म पनि बजाइन्छ) का लागि योगीले भायोलिनमा साथ दिएका थिए।
उनले कुमारी, शक्ति बृन्द, चन्डालिका, शिव ताण्डव, अन्नपूर्ण, गुलाब गुराँसलगायत दर्जन बढी नृत्य नाटिकाका लागि संगीत सिर्जना गरेका थिए। त्यसैगरी डाँफे, अभियान, रत्नावली, लोकमाला, नवरस, त्रिवेणी लगायत दर्जन बढी अर्केस्ट्रा उनले सिर्जना गरेका थिए।
नेपाली संगीतलाई विश्वसमक्ष चिनाउन लागिपरेका नेपालका एक मात्र बेलावादक योगीको नेपाली संगीतको इतिहासमा उल्लेख्य योगदान छ। हातका औंलाद्वारा बेलावादन गरिने भायोलिन वादक गोपालनाथ योगीले नेपाली संगीतलाई ठूलो योगदान गरेका छन्।
नेपालका एकमात्र विशिष्ट बेलावादक योगीले दशकौंसम्म संगीतको साधना गरेका थिए। शास्त्रीय संगीतलाई अगाडि बढाउनको लागि उनको महत्त्वपूर्ण योगदान छ।
बेलावादनद्वारा नेपालको नाम उच्च स्थानमा राख्न सफल व्यक्तित्व योगीले नेपालमा मात्र नभइ विदेशका थुप्रै ठाउँहरुमा आफ्नो कला प्रस्तुत गरेका थिए। उनी आफूले सिकेका कुरा अरुलाई सिकाउन अत्यन्तै रुचाउँथे ।योगीले भारतको इन्दिरा
संगीत विश्वविद्यालय चैरागढबाट संगीतमा अनर्स उपाधि हासिल गरेका थिए। त्यसपछि जन्मगाउँ पाल्पामा फर्केका योगीलाई आफन्त, साथीभाइले काठमाडौं जान सुझाव दिए। सबैको सल्लाह बमोजिम उनी २०१९ सालमा काठमाडौं आएका थिए।
काठमाडौं आएपछि उनी आफूले सुनिरहेको र थाहा पाएको स्थान रेडियो नेपालमा पुगे। रेडियो नेपालमा प्रवेश गरेपछि २ वर्ष कलाकारको रुपमा काम गरे।
त्यस समयमा रेडियोमा शास्त्रीय संगीतका निकै कार्यक्रम प्रस्तुत गरिन्थे। २०२१ सालमा उनले राष्ट्रकवि माधवप्रसाद घिमिरेको अनुरोधमा प्रज्ञा प्रतिष्ठानमा ३ वर्ष काम गरे। २०२४ सालमा उनले सांस्कृतिक संस्थानको संगीत निर्देशकको रुपमा पनि काम गरे।
शास्त्रीय संगीतका ‘भिष्म पितामह’
स्वर्गीय योगीसँग नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगै काम गरेका वरिष्ठ तबलावादक अच्युतराम भण्डारी गोपाल नाथ योगीलाई ‘शास्त्रीय संगीतका भिष्म पितामह’ मान्छन्। ‘उहाँलाई बेला, सितार, तबला, सरोद, बाँसुरी लगायतका वाद्य यन्त्रको पनि विशद् ज्ञान थियो। उहाँ सबै इन्स्ट्रुमेन्ट बजाउन सक्नु हुन्थ्यो। उहाँसँगै मैले संगीतको क, ख, ग सिकेको हुँ,’ भण्डारीले सुनाए।
भण्डारी सन् १९८४ मा वरिष्ठ सितारवादिका उमा थापा र गोपाल नाथ योगीसँगै युरोपको ४ महिने भ्रमण गरेको सम्झना गर्छन्, ‘हामीले बर्लिन सहरमा झन्डै ४ हजार दर्शकसामू खुला रंगमंचमा प्रस्तुति दिँदै थियौँ। शास्त्रीय संगीतको क्लाइमेक्सको बेला उहाँले अचानक बाजा भुइंमा राख्नुभयो र हामीले लगाएको नेपाली पोसाक र प्रस्तुतिबारे अंग्रेजीमा जानकारी दिनुभयो। त्यसपछि उहाँले मुखैले तबलाको धुन बोल्ने र मैले बजाउने गर्यौँ। अन्तिममा धा धा धा बर्लिन भनेर भन्नुभयो। मैले बजाएँ। कार्यक्रम सकियो, त्यसपछि हामीसँग भेट्न दर्शकहरुले झन्डै एक घण्टा धकेलाधकेला नै गरे। तबलामा पनि उहाँको त्यस्तो ज्ञान रहेछ भन्ने मैले सोही दिन थाहा पाएँ।’ अहिले स्वर्गीय योगीका पुत्र विकास नाथ योगी, यज्ञ राज अधिकारी, मिलन तन्डुकार लगायतले नेपालमा बेलावादन जोगाइ राखेको भण्डारी बताउँछन्।
गोपाल नाथ योगीसँग २८ वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानमा सँगै काम गरेका चर्चित संगीतकार प्रकाश गुरुङ स्वर्गीय योगीलाई शास्त्रीय संगीतको पण्डितको रुपमा सम्झन्छन्। ‘उहाँसँग हामीले देश, विदेश घुमेर नृत्य नाटिका प्रस्तुत गर्यौँ । बिजय बहादुर मल्लले लेख्नुभएको स्क्रिप्टमा आधारित रहेर उहाँले नृत्य नाटिका कुमारी ब्याले बनाउनुभयो, जुन अत्यन्तै चर्चित भयो। नेपालीलाई थाहा नै नभएको बेला नेपालमा ब्याले, ओपेरा गरेको उहाँले नै हो।’
एकेडेमीमा अम्बर गुरुङ गायन विभाग र प्रचण्ड मल्ल रंगमञ्च विभागको निर्देशक हुँदा गोपाल नाथ योगी वाध्यवादन विभागको निर्देशक थिए। ‘त्यस्तो ऐतिहासिक संयोग पाउन अब त दुर्लभ छ। अहिले नेपालमा संगीतको बजार ठूलो छ, तर गुणस्तर छैन। शास्त्रीय संगीतका विज्ञ वा साधकहरुको त चर्चा पनि हुँदैन,’ गुरुङ भन्छन्।
राग ऐश्वर्यका सर्जक
१०० भन्दा बढी इन्स्र्टुमेन्टल अर्केस्ट्राहरुको सिर्जना गरिसकेका स्वर्गीय योगीको एउटा सिर्जनालाई स्वर्गीय रानी ऐश्वर्य शाहको सम्झनामा ‘राग ऐश्वर्य’ नामाकरण गरिएको थियो। उनले इन्द्र राज्यलक्ष्मी पुरस्कार, गोर्खा दक्षिण बाहु दोस्रो, स्पेनका राजाद्वारा मेडल, नारायण गोपाल संगीत सम्मान, दक्षिण कोरियामा आयोजित सांगीतिक समारोहमा एसिया प्यासिफिक पुरस्कार, राष्ट्रिय लोक कला पुरस्कार, नेपाल संगीत तथा नाट्य संस्था प्रज्ञा पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठान सम्मान पत्र, , सुकर्म संगीत सम्मान गरी दर्जन बढी पुरस्कार र सम्मान पाएका थिए।
नेपाली सांगीतिक टोलीका साथ झन्डै ३ दर्जन मुलुकहरुको भ्रमण गरेका योगीले केही समय अमेरिकाको पोर्टल्याण्ड विश्वविद्यालय तथा ओरेगन विश्वविद्यालयमा पनि संगीतको प्रशिक्षण दिएका थिए। आफ्नै बुवाको बाटो पछ्याएका गोपालनाथका छोरा विकास नाथ योगी पनि नेपालका चर्चित भायोलिन वादक हुन्।
चर्चाबाट टाढा रहन रुचाउने योगी नेपाली शास्त्रीय संगीतलाई माथि उकास्नको लागि लागि परेका साधक थिए। उनले सांस्कृतिक संस्थानमा काम गर्दै गर्दा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको भवन तयार भइसकेको थियो। नयाँ भवन, नयाँ सोच र नयाँ व्यवस्थापनका साथ सञ्चालन हुन लागेको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा उनले काम सुरु गरे। २०२६ सालदेखि सुरु भएको जागिरे यात्रा २०५४ सालसम्म निरन्तर चल्यो। उनले त्यस अवधिमा सांगीतिक क्षेत्रमा थुप्रै नयाँ काम गरेर देखाउने मौका पाए।
प्रज्ञा प्रतिष्ठानमा काम गर्दा उनले देश तथा विदेशका थुप्रै स्थानमा नेपाली संगीत र सिर्जनालाई चिनाउने मौका पाए। गोपालनाथले विदेशका थुप्रै ठाउँहरुमा पुगेर आफ्नो प्रतिभा देखाएका थिए। उनले दक्षिण कोरिया, थाइल्याण्ड, हङकङ, सिंगापुर, बंगलादेश, श्रीलंका, पाकिस्तान, जर्मनी, स्वीजरलैण्ड, रुस, चीन, जापान, फिलिपिन्स, अमेरिका, भारत, अष्ट्रेलिया आदि मुलुक पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। उनलाई चिन्ने र उनका शिष्यहरु भन्छन्- गोपालनाथ योगीले यो संसार छाडे पनि उनका कृति र योगदान नेपालको सांगीतिक इतिहासमा सदा अमर रहने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।