महात्मा गान्धीले एकपल्ट बिपीलाई सोधेछन्, ‘राजनीतिमा कसरी रुचि भयो?’
उनको उत्तर थियो, ‘राजनीति मैले आफ्नो परिवारिक विरासतबाटै पाएँ। यो त मेरो नसामै दौडिरहेको छ।’
विश्वेश्वरप्रसाद कोइराला, नेपालले मात्र होइन विश्वले मानेका नेता हुन्। अझ उनी संसारभरिका समाजवादीका लागि आदर्श हुन्।राणा शासनको विरोध गरेको आरोपमा बाबु कृष्णप्रसाद देश निकाला भएकै बेला बिपीको जन्म भएको थियो, भारतको बनारसमा, विसं १९७१ भदौ २४ मा।
बिपीले बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका थिए। दार्जिलिङमा केही वर्ष कानुन अभ्यास गरेपछि उनी भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध भए। दोस्रो विश्वयुद्धताका भारतको स्वतन्त्रता आन्दोलनमा होमिए। त्यही क्रममा उनी धनबादमा पक्राउ परे र दुई वर्ष ब्रिटिस जेलमा थुनिए।
भारत स्वतन्त्रतापछि उनको पूरै ध्यान नेपालमा प्रजातन्त्र ल्याउन केन्द्रित भयो। उनले पहिले ‘समाजवादी नेपाली राष्ट्रिय कांग्रेस’ को नाममा राणाविरोधी आन्दोलनको मोर्चा तयार पारेका थिए। पछि सबै समूहसँग मिलेर नेपाली कांग्रेस स्थापना गरे। राणाविरोधी आन्दोलनका क्रममा उनी २००७ सालअघि दुईपल्ट पक्राउ परे। २००४ सालमा उनकै अगुवाइमा विराटनगरमा पहिलो मजदुर आन्दोलन भयो। कांग्रेसले राणाविरुद्ध सशस्त्र आन्दोलन सुरु गर्दा उनकै नेतृत्व थियो।
२००७ मा राजा, राणा र कांग्रेसबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएपछि १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भयो। त्यसपछि बनेको राणासँगको मिलिजुली सरकारमा उनी गृहमन्त्री भए। त्यही बेला उनको हत्या गर्ने असफल प्रयास पनि भयो। देशभित्र र विदेशमा चुलिँदो लोकप्रियता र प्रभावका कारण उनलाई सत्तामा नजान अनेकौं प्रपञ्च रचियो। २०१५ सालमा पहिलोपल्ट निर्वाचन भयो। यतिबेला आफ्नो विश्वव्यापी लोकप्रियताका कारण बिपीले निर्वाचन मात्र जितेनन्, नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्यायो र बिपी नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बने।
उनले आधुनिक भूमिसुधार, शिक्षा, स्वास्थ्यदेखि विकासका थुप्रै दुरगामी अर्थ राख्ने योजना ल्याए। संयुक्त राष्ट्रसंघको महासभामा उनले गरिब राष्ट्रको विषयमा उठाएको मुद्दा अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ।
तर, राम्रो काम गर्न नपाउँदै राजा महेन्द्रले उनको सरकारलाई १८ महिनामै ‘कू’ गरे। शाही ‘कू’ पछि उनी ८ वर्ष सुन्दरीजल बन्दीगृहमा थुनिए। त्यसपछि फेरि भारतको बनारसमा निर्वासित जीवन बिताउन गए। निर्वासनकै क्रममा नेपाली कांग्रेसको नेतृत्वमा नेपालमा जहाज अपहरण भयो। यो घटनापछि भारत सरकारको रवैया बदलियो। तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले ‘नेपालको वैदेशिक नीति र सुरक्षामा अधिकार दिने भए बिपीलाई नेपाली राजनीतिमा पुनः स्थापित गराउने’ प्रस्ताव राखिन्। बिपीले राष्ट्रियतासँग सम्झौता गर्न मानेनन्। त्यसपछि त भारत सरकारो नीति उनीप्रति झनै कडा हुँदै गयो। भारतले आफूलाई गोटी बनाएर नेपालमाथि हस्तक्षेप गर्न थालेको महसुस गरी बिपीले त्यतिखेर सबैलाई चकित पार्ने निर्णय गरे, राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किने।
२०३३ सालमा नेपाल फर्किंदा उनीमाथि राज्यविरुद्ध सशस्त्र युद्धको तयारी गरेको मुद्दा थियो। उनलाई विमानस्थलमै पक्राउ गरी महाराजगन्जस्थित पुलिस तालिम केन्द्रमा राखियो। त्यहीँ उनको घाँटीको क्यान्सर पत्ता लाग्यो। थुनामै हुँदा उनलाई उपचारका लागि अमेरिका लगियो। दुई वर्षपछि उनीविरुद्ध लागेको सबै मुद्दा सरकाले फिर्ता लियो। २०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहमा व्यापक धाँधली गरेर बहुदललाई हराइयो। बिपीले धाँधली भएको जान्दाजान्दै नतिजा स्वीकार गरे। जनमत संग्रहका माध्यमबाट नेपालमा सानै भए पनि प्रजातान्त्रिक परिपाटी सुरु भएको थियो, बिपीका लागि यो पहिलो जित थियो।
उनले जनतामा जाने निर्णयको स्वागत गरे। उनले राजा वीरेन्द्रसँग मुलुकलाई प्रजातान्त्रिक परिपाटीमा लैजान, पार्टीहरुलाई चुनाव चिह्न दिन र वर्गीय संगठना केही बुँदा हटाउन आग्रह गरे। तर, राजाले मानेनन्। त्यसैले कांग्रेसले २०३८ सालको निर्वाचनमा भाग लिएन।
२०३९ साउन ६ मा क्यान्सका कारण ६८ वर्षको उमेरमा काठमाडौंमा बिपीको निधन भयो। बिपी राजनीतिमा जति चर्चित छन्, साहित्यमा पनि उनको उत्तिकै नाम छ। उनका हिटलर र यहुदी, दोषी चस्मा, सुम्निमा, श्वेतभैरवी, बाबुआमा र छोरा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदिआइन, जेल जर्नल, आत्मवृत्तान्त जस्ता कृति प्रकाशित छन्।
पहिलो पटक २०७४ भदौ २४ मा प्रकाशित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।