त्रिभुवनको निधनपछि २०११ सालमा महेन्द्र राजा बने। उनले पनि आफ्नो बाबुजस्तै राजनीतिक प्रयोगलाई हत्कण्डा बनाए।
चुनाव गराउनुको सट्टा एकपछि अर्को गर्दै धमाधम प्रधानमन्त्री बनाउन थाले। यसैबीच, २०१५ सालमा चुनाव हुने निश्चित भयो। म आफ्नै पार्टी गोर्खा परिषदमा सक्रिय थिएँ।
त्यतिबेला सूवर्णशमशेर सबैभन्दा धेरै ३ ठाउँबाट उठेका थिए। उनी कुनै पनि चुनावी क्षेत्रमा नखटीकनै तीन ठाउँबाट निर्वाचित भए। मैले नुवाकोटबाट जितेँ। मेरो पार्टीले १९ सिट जित्यो।
कांग्रेसपछि दोस्रो ठूलो दल भयो। त्यतिबेला प्रजातन्त्र भनेको के हो? कसैलाई थाहा थिएन। कांग्रेसको यति ठूलो चकचकी थियो, जहाँ गयो त्यहीँ झगडा। पाल्पामा बिपी भाषण गर्न जाँदा मातृकाले नै माथिबाट ढुंगा फाल्न लगाए। त्यो घटनामा एकजना पक्राउ पनि परे।
कांग्रेसले दुई तिहाई बहुमत ल्यायो। महेन्द्रले नचाहँदा नचाहँदै पनि बिपी प्रधानमन्त्री भए। म विपक्षी दलको नेता थिएँ। त्यतिबेला राजाको विरोधमा कसैको बोल्ने आँट थिएन।
त्यतिबेला ऋषिकेश शाह र तुलसी गिरीसँग मेरो खुब दोस्ती थियो। उनीहरू त्यही बेलादेखि नै राजालाई भेट्थे र कुरा लाउ“थे। उनीहरूलाई गाली गर्थें– ‘चोर! तिमीहरू राजालाई भेट्ने।’ तर, मैले जति नै गाली गरे पनि मेरो चुक्ली भने लगाएनन्।
२०१७ सालमा महेन्द्रले ‘कू’ गर्ने दिनको अघिल्लो रात म र बेनीबहादुर कार्की दिल्ली जाँदै थियौं। दरबारबाट चिट्ठी आयो– ‘राजाले भोलि दर्शन दिने रे। कतै नजानू।’
२–३ दिनदेखि नै ‘सिम्टम’ राम्रो सुनिएको थिएन। दिउँसो बबरमहलस्थित निवासमा बसिरहेको थिएँ। मलाई पक्राउ गर्न भरतकेशर सिंह पो आइपुगे।
बिपी लगायत त्यतिबेला मन्त्रिमण्डलमा भएका (सूवर्णलाई छोडेर) सबै पक्राउ परे। म एक्लो प्रतिपक्षी नेताको रुपमा ६ महिना जेल बसेँ। त्यसपछि राजालाई सघाउने सर्तमा मलाई छोडियो। पहिलेदेखि राजसंस्था मन नपर्ने, म किन नेपाल बस्थेँ। भागेर कोलकाता पुगेँ।
कोलकातामा सूवर्णशमशेर सक्रिय राजतन्त्रविरुद्ध आन्दोलनको तयारीमा थिए। म त्यहाँ पुगेपछि उनलाई हलुको महसुस भएछ। त्यसैले पिथौंरागढदेखि पूर्वसम्म भारत–नेपाल बोर्डर एरिया सबै हेर्ने जिम्मेवारी दिए।
त्यो आन्दोलनमा भारतीय प्रधानमन्त्री जवहारलाल नेहरुको समर्थन थियो। म कांग्रेसको क्रान्तिमा पहिलो पल्ट होमिएको थिएँ। तर, नेहरुको निधनपछि सूवर्ण राजासँग गएर मिले। त्यसपछि मलाई सूवर्णसँग बसिरहन मन लागेन। र, मेरो झुकाव बिपीतिर बढ्यो। जसको नतिजा यस्तो भयो, ‘मलाई भारत सरकारले कोलकातामै नजरबन्दमा राख्यो। म कतै जान नपाउने।’
२०२५ सालमा बिपी निर्वासित जीवन बिताउन फेरि भारत आए। यसपछि हाम्रो सम्बन्ध राम्रो भयो। मैले उनलाई आफ्नो नेता स्वीकारेँ। अहिलेसम्म स्वीकारिरहेको छु।
बिपी कोलकाता आउँदा मेरो घरमा आउँथे। उनीसँग भारतीय समाजवादी नेता जयप्रकाश नारायण (जेपी), भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखर धेरै पल्ट मकहाँ आए।
बिपी भारत आएपछि नेपाली कांग्रेसले फेरि सशस्त्र युद्ध गर्ने घोषणा गर्यो। यसका लागि हामीसँग हतियार किन्न पैसा थिएन। बिपी अन्तर्राष्ट्रिय समाजवादीहरूको सम्मेलनमा भाग लिन स्विट्जरल्यान्ड जाँदै थिए। मैले उनलाई ‘ब्ल्याङ्क चेक’ दिएँ। उनले सम्मेलन सकिएपछि ‘सोसलिस्ट इन्टरनेसनल’ का महासचिव हान्स जोनिस्चेकलाई चेक देखाएछन् र सोधेछन्– ‘कसरी निकाल्ने। उसले नै बिपीलाई सिकाएछ, यो ‘ब्ल्याङ्क चेक’ हो। यसरी पैसा निकाल्नुपर्छ।’ बिपीलाई चेकबाट पैसा कसरी निकाल्ने, त्यो पनि थाहा थिएन।
जहाज अपहरणपछि नेपालले भारतीय सरकारलाई दबाब थियो। ‘रअ’ का तत्कालीन प्रमुख बिपीकहाँ भन्न आएका थिए– ‘त्यो पैसा हामीलाई फर्काऊ। त्यति नै पैसा हामी तिमीलाई उपलब्ध गराउँछौं।’ तर, बिपीले प्रस्ताव ठाडै अस्वीकार गरे। बिपी आफ्नो विवेकमा मात्र हिँड्थे, कसैले भनेर मान्दैन्थे।
बिपीको राष्ट्रिय मेलमिलापको विषयमा नेपालमा जसलाई जे मन लाग्यो, त्यही व्याख्या गरेर हिँड्छन्। मलाई अचम्म लाग्छ। पटनामा बिपी र म बसेर बनाएको ड्राफ्ट हो, त्यो। त्यसमा कहाँ राजासँग मिल्ने कुरा छ?
बिपी नेपाल फर्किएपछि यति चाँडो राजनीतिक उथलपुथल भयो। राजालाई जनमत संग्रहको घोषणा गर्न कर लाग्यो। जनमत संग्रहको प्रचारका लागि म पनि काठमाडौंं लागेँ। त्यतिबेला गणेशमान र म फर्पिङदेखि टोखासम्म खटिएका थियौंं। पाटनको सहरी एरियामा हाम्रो जित भयो। बाहिर उनीहरूको। मलाई थाहा थियो, दरबारले कुनै पनि हालतमा हामीलाई जित्न दिँदैन। त्यसैले फेरि दुःख दिने हो कि भनेर चुनाव भएको भोलिपल्टै कोलकाता फर्किएँ।
बिपी क्यान्सरको उपचार गरेर अमेरिकाबाट फर्किएपछि उनलाई भेट्न काठमाडौंं गएको थिएँ। कपाल पूरै झरेको थियो। उनले मलाई सुनाए– ‘किमोथेरापी गर्दा बडो दुःख हुन्छ।’
वास्तवमै बिपी प्रजातन्त्रवादी थिए, एकदमै सरल। कोहीसँग उनको रिसराग थिएन। यो दुनियाँमा जो ठूलो हुन्छु भन्छ, त्यही सानो हुन्छ। अहिले नेपालमा राजा बन्नेको हालत हेर्नु त! बिपी बितेको यति समय भइसक्यो। तर पनि नेपाली जनतामा उनीप्रतिको श्रद्धा घटेको छैन। राजा भन्ने चिज नै खराब हो। लास लुछेर खान्छन्।
(नवीन अर्यालसँगको कुराकानीमा आधारित। शमशेरको गत साउन २६ गते निधन भएको थियो।)
पहिलो पटक २०७४ भदौ २४ मा प्रकाशित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।