काठमाडौं– प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासंघसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसद्बाट संशोधन पेस भएका छन्।
यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाको समय (आज दिउँसो ४ सम्म) समय दिइएको थियो। संशोधनमा यही असोज ५ गते नेपाल शिक्षक महासंघ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरुको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ।
सांसदले संयुक्त र एकलरुपमा एक सय ५० संशोधन दर्ता गराएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजसम्म संशोधनका लागि समय दिइएकाले यकिन विवरण प्राप्त नभए पनि प्रक्रियागतरुपमा आएका संशोधनलाई एकीकृत गरी प्रस्तुत गरिने जानकारी दिए।
सरकारले संसद्मा विधेयक दर्ता गरेपछि महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरेसँगै भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासंघसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेका छन्। विधेयकमाथि असोज १९ गतेको बैठकमा सैद्धान्तिक छलफलमा सांसदले भाग लिएका थिए।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेगरी कार्यसूचीमा समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।