ल्हासा– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुगेका छन्।
सिछ्वान एअरलाइन्समार्फत् स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण गरेका हुन्।
गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकीसहित भव्य स्वागत गरिएको छ। कार्यक्रमको सूची अनुसार आज साँझ प्रधानमन्त्री प्रचण्डसङ चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचीव वाङ चङ्छङ्ले भेटवार्ता गर्नेछन्।
सचिव वाङले प्रचण्डको सम्मानमा आज साँज रात्रिभोजको आयोजना गर्नेछन्। चीनसङ सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रबाट चीनसँग विद्युत् व्यापारका लागि प्रसारण लाइन निर्माणको समझदारी बनेको सन्दर्भमा प्रचण्डले ल्हासाको भ्रमण गरेका हुन्।
तिब्बतमा रहँदा प्रचण्डले कैलाश मानसरोवर (ताल ) एवं कैलाश पर्वतको भ्रमणसमेत गर्ने कार्यक्रम छ। ल्हासामा प्रधानमन्त्री प्रचण्डले ल्हासाका लागि नेपालको महावाणिज्यदूतको कार्यालयमा भ्रमण गर्ने कार्यक्रम पनि रहेको छ।
उनका साथ परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार एवं यातायातमन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू छन्। यसअघि प्रधानमन्त्री प्रचण्ड हिजो बेइजिङबाट छोङछिङ सहर पुगेका थिए।
त्यहाँ उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छोङछिङ महानगरले गरेका कार्यहरुको जानकारी लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।