काठमाडौं– सुन किन्ने बहानामा चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न सात भन्दा बढी स्थानमा स्कुटरको प्रयोग गरी सुन पसलमा गएर सुन किन्ने बहानामा चोरी गर्ने उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–९ की ३३ वर्षीया रत्न महर्जन, सोही नगरपालिका–४ का २२ वर्षीय सुमन पतुवार, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्रको सोलापुर घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन्।
पक्राउ परेकामध्ये रत्न सुन चोरी गर्ने रहेको, पतुवार स्कुटर चालक, विक र फाँडे सुन खरिद गर्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ। उनीहरुले पसलमा गएर सुन किन्ने भन्दै गहना देखाउन लगाउने र उक्त गहना चोरी गर्ने गरेको पाइएको छ।
पतुवारले उक्त कार्यमा प्रयोग गर्दै आएको स्कुटर पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।