काठमाडौं– सोमबार मध्यदिउँसो भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहभित्र निकै उत्सवमय थियो सभा गृहको मूल गेट हरियो र रातो बलुनले सजिसजावट थियो।
तर, सोही मूल गेटको छेवैमा छातिमा पम्प्लेट बोकेर, लौरी टेकेर उभिएरै विरोध गर्दै थिए ईः। पम्प्लेटमा लेखिएको थियो, ‘सुनिता एण्ड बालेन, वी एक्स्पेक्टेड बेटर फ्रम युथ।’ ‘हिजो गरिबको गीत गाउने मान्छे आज किन बन्ठे भयौ?’ थियो अर्को पम्प्लेटमा।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोललाई चुनावी बाचापत्र सुझाउन ‘सौम्य विरोध’ थालेको ६ दिन बितेको छ।
काठमाडौं महानगरपालिकाका मेयर उपमेयर महानगरपालिकाभित्र आउने–जाने क्रम चलिरह्यो। तर गेटको छेउमा उभिएका ई:लाई देखेर नदेखेजसरी ओहोर दोहोर गरिरहे।
गत शुक्रबार साँझसम्म ७७ घन्टा उभिने निर्णय गरेका थिए ईःले। तर काठमाडौं महानगरपालिकाले बेवास्ता गरेपछि उनले आन्दोलन लम्ब्याए। पहिलो पटक उनले आफ्नो विरोध ४६ घन्टा लम्ब्याए। यो समयमा काठमाडौं महानगरले वार्ता गर्छु भने पनि कुनै पहल गरेन। त्यसपछि ईःले आन्दोलन लम्ब्याएर १९९ घन्टा पुर्याउने बताएका छन्।
‘चुनावअघि गरिबको चमेली बोल्दिने कोही छैन भन्दै सडकमा अभियान चलाउने मेयर, उपमेयरले सत्तामा आएपछि सडकमा भएका सबैभन्दा कमजोर व्यक्ति फुटपाथ व्यापारी, ठेला व्यापारी, साइकल व्यापारी जस्ता परम्परागत व्यापारी हुँदा खाने वर्गलाई जुन किसिमको हिंसा, दुर्व्यवहार देखाउनुभयो,’ उनले भने, ‘हिजो जुन मेयर उपमेयरको उम्मेदवार हुनुहुन्थ्यो तर आज मेयर, उपमेयर भइसक्दा उहाँहरुको व्यवहारमा तालमेल छैन,’ उनले भने।
मेयरको चुनाअघि शाहले ल्याएका सबै अजेण्डा निम्नवर्ग, सीमानतकृतवर्गको पक्षमा थिए। सबैभन्दा विपन्न वर्गको पक्षमा बोल्ने नेता आए भनेर सबैले समर्थन गरी मेयर शाहलाई विजयी गराए। तर मेयर शाहले आफ्नो अजेण्डा विपरीत काम गर्दा निम्नवर्गले सास्ती भोग्न परेको उनको भनाइ छ।
६ दिनदेखि लगातार महागनरको कार्यालय अगाडिको गेटमा उभिरहेका ईःलाई महानगरले बेवास्ता गरिरहेको छ। सोमबार दिउँसो महानगरपालिकाका मेयर शाहले ईःसँग वार्ता गर्न महानगर प्रहरीलाई पठाए। महानगर प्रहरीले धम्कीको स्वरमा बोलाएपछि आफू वार्तामा जान नचाहेको ईःले बताए।
६ दिन ६ रात लगातार उभिसकेका ईःका खुट्टा सुन्निसकेका छन्। सुम्ला उठेजस्तो पिडुँला फुलेको देखिन्छ। उभिएरै विरोध गरिरहेका ईःलाई अब बस्नसमेत सकस परेको छ। रक्तसञ्चारमा गडबडी भएपछि पैताला सहनै नसक्ने गरी पीडा भएको उनी सुनाउँछन्।
यति हुँदाहुँदै उनको मुहारमा कत्ति पनि निराशापन थिएन। ‘मेरा माग पूरा नभएसम्म विरोध रोक्ने छैन। मेरो माग भनेको काठमाडौं महानगरभित्र रहेका सम्पूर्ण नागरिकप्रति मेयर उपमेयरको एउटै दायित्व हुनपर्छ,’ उनले भने, ‘कसैलाई काखा कसैलाई पाखा गर्न पाइँदैन।’
चुनावअघिका अजेण्डामा मेयर शाहले फुटपाथको व्यापारलाई व्यवस्थित ढङ्गले लैजाने, निश्चित समयमा व्यापार व्यवसाय गर्न दिने जस्ता निम्न वर्गका हितका लागि अजेण्डा बनाएका थिए। चुनावअघि आफूले बाचा विपरीत काम गरिरहेका महानगरका मेयर शाह र उपमेयर डंगोललाई बाचा नसुझाएसम्म आफू जस्तोसुकै परिस्थिति पनि भोग्न तयार रहेको उनको भनाइ छ।
कस्तो असर पर्ला?
निरन्तर उभिइरहँदा शारीरिक र मानसिक रुपमा असर पुग्ने फिजियोलोजिस्ट डा नारायण महोत्रा बताउँछन्। यसरी निरन्तर उभिइरहँदा खुट्टातिर रगत सञ्चार नहुने र सुन्निने जस्ता समस्या देखिन्छ। यस्तै निरन्तर उभिइरहँदा मानसिक रुपमै असर पुग्ने र बेहोस भएर ढल्ने समस्यासमेत देखापर्ने डा महोत्रा बताउँछन्।
‘उभिँदा शरीरमा भएको रगत गुरुत्वाकर्षणले तलतिर तानिरहेको हुन्छ। त्यसले गर्दा खुट्टातिर रगतको चाप बढी पर्छ। उभिँदा खुट्टा बेलाबेलामा चलाउँदै उभिँदा फरक नपर्न सक्छ। तर खुट्टा नचलाई निरन्तर उभिँदा खुट्टातिरको रगत मुटुतर्फ फर्किन सक्दैन। त्यसले गर्दा खुट्टा सुन्निने मुख्य समस्या हुन्छ,’ उनले भने। सुन्निएपछि पनि निरन्तर उभिइरहे अरु कठिन समस्या आउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।