काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन प्रकरणका विषयमा छानबिन नगर्ने आयोग जरुरी नभएको बताएका छन्। एमालेकै मागअनुसार सहमति भएको आयोग गठनको कार्यादेश तस्करी रोक्न कानुन सच्याउने कुरातर्फ केन्द्रित गर्न खोजिएको भन्दै उनले यस्तो बताएका हुन्।
'सय किलो भनिएको सुन ६१ कसरी भयो? सरकारसँग सुन पगाल्ने एउटा मेसिन छ। पाँच वटा सुन पगाल्ने मेसिन तस्करसँग कसरी भयो? कसरी भयो? अनि अर्काले ठाउँ देखाइदिएपछि जाने? सरकारको अनुसन्धान गर्ने निकाय छैन? यी सब अनुसन्धान अरुले देखाएर बाध्य भएपछि गरिएका हुन्। त्यसैले हामीले छानबिन आयोग भनेका हौं। छानबिन नगर्ने आयोग किन चाहियो? कानुन संशोधन गर्न किन आयोग चाहियो? त्यो कानुन संशोधन सुझाव आयोग छँदैछ नि,' ओलीले भने।
उनले मुख्य तस्करो गोदाम देखिन्छ भनेर बीचमै सुन समातिएको आरोप समेत लगाए। आफ्नो सुन भनेर दाबी गरेर बुझेर ल्याउने मान्छे पक्राउ गरेर छाडिएको भन्दै आक्रोश व्यक्त गरे। ओलीले थपे, 'मेरो सुन हो भनेर बुझेर ल्याउने मान्छे बाटामा पक्राउ पर्छ। सय किलो सुन तस्करी गर्ने तस्करलाई चाहिएको बेला हाजिर हुने गरी कागज बनाएर छुटाइन्छ। सामान लुकाउन लगाइन्छ। रित्ता बाक्सा भेटिन्छन् तर सामान भेटिँदैन। सरकारले लुकाउन लगाइसकेको हुन्छ।'
अहिले आयोग बनाएर छानबिन गर्न खोज्दा पछि भविष्यमा कस्तो बनाउने सिफारिस गरोस् छानबिन नगरौं भन्न थालिएको आरोप ओलीले लगाए। उनले प्रश्न गरे, 'बिजुली चुरोटमा साढे ९ किलो आएको भनेको के भयो? २९४ पल्ट फोन संवाद भएको कहाँ गयो? एअरपोर्ट कुदेको कहाँ गयो? २०७१ सालदेखि नागरिकता दिई दिई तस्कर तयारी गरिएको रहेछ नि, ती मान्छे को हुन्? यसमा लगानी गर्ने को हो?'
आफूले यसरी प्रश्न उठाउँदा सरकारलाई नराम्रो लाग्ने बताउँदै उनले आफूमाथि प्रश्न उठाइने बताए। आफूले यसरी प्रश्न गर्दा गिरिबन्धु टी स्टेटको फाइल खोल्ने धम्की दिइएको बताउँदै ओलीले भने, 'फाइल खोल्नुहोस्, गठबन्धनका को-को हो जेल जानुहोस्। एमालेलाई कुनै फाइलसँग त्रास छैन। फाइन खोल कारबाही गर।'
सुन मात्रै होइन, धेरै कुराहरुको तस्करी भएको उनको भनाइ छ। देशद्रोही काम भएको बताउँदै ओलीले कुनै पनि समयमा छानबिन हुने बताए। 'शताब्दीभरि कुनै पनि समयमा भए पनि छानबिन गराएरै छाड्छौं। जति ढिलो हुन्छ, त्यति गाह्रो पर्छ। जुन समयमा भए पनि गराएर छाड्छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।