काठमाडौं- उद्योग मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले आफूले महँगी नियन्त्रणका लागि भरमग्दुर प्रयास गरिरहेको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा कतिपय सदस्यहरूले महँगीले जनतालाई आक्रान्त पारेको भन्दै प्रश्न गरेपछि रिजालले जवाफ दिएका हुन्।
'मेरो मन्त्रालयसँग सम्बन्धित महँगीको विषय छ। महँगी नियन्त्रणको विषयमा मेरो भरमग्दुर प्रयास छ। इन्डियाका वाणिज्य मन्त्रीसँग पनि मैले कुरा गरेँ। चामल र चिनीको विषयमा। हुन्छ, म गर्छु, छिट्टै हुन्छ भनेर भन्छन्। तर अहिलेसम्म कार्यान्वयनको अवस्था छैन। राजदूतसँग पनि चार/पाँच पटक बसिसकेको छु। भइरहेको छ, तपाईं चिन्ता नगर्नूस् भन्छन्। तर कार्यान्वयनको अवस्था देखेको छैन', उनले भने।
मन्त्री रिजालले चिनीको ठूलो हाहाकार मच्चिएको अवस्थामा १० हजार क्विन्टल साल्ट ट्रेडिङ र १० हजार क्विन्टल खाद्य संस्थानलाई विशेष आग्रह गरेर छिटो छरितो समय लिएर टेन्डर आह्वान गरेर मगाउन भनिएको र सरकारले ५० प्रतिशत भन्सार पनि छुट दिन्छ भनेर पत्र पनि दिइसकेको बताए।
'पत्र दिएकाले उहाँहरू लाग्नु पनि भएको छ। दशैं आउन लागिसकेको छ। र, छिट्टै यसमा केही मूल्य नियन्त्रण गर्न सक्षम हुन्छौँ भन्ने लागेको छ,' उनले भने।
तीन वटा समूह बनाएर अनुगमनको कार्यक्रम पनि लागू गरेको उनले जानकारी गराए। त्यसबाट अनुगमन पनि भइरहेको उनको भनाइ छ। तर कतिपय कानुनले बाधा गरेको भन्दै त्यसलाई संशोधन गर्नुपर्ने बताए। उनले भने, 'कानुन संशोधन गर्ने बारेमा पनि हाम्रो छलफल चलिरहेको छ। त्यसमा पनि लागिरहेको छु। छिट्टै महँगी नियन्त्रण गर्न सफल हुन्छौँ भन्ने लागिरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।