काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले कार्यसमिति बैठक दुई-दुई महिनामा बस्नु व्यावहारिक नभएको बताएका छन्। जारी बैठकका क्रममा सोमबार धारणा राख्दै खड्काले विधानको व्यवस्था नै व्यावहारिक नभएको बताएका हुन्।
'दुई-दुई महिनामा बैठक बस्ने कुरा विधानमा छ। तर त्यो त्यति व्यावहारिक हुँदैन। हामी यहाँ काठमाडौंमा बस्नेलाई त ठिकै छ। टाढा-टाढाबाट आउनेलाई प्लेन खर्च, होटल खर्च सबैलाई हेर्यौं भने मलाई लाग्छ, त्यति व्यावहारिक हुँदैन', उनले भने।
खड्काले वर्षमा तीन वा चार पटक मात्रै केन्द्रीय समिति बैठक बस्नु राम्रो हुने बताए। दुई-दुई महिनामा बोल्नका लागि इस्युहरू पनि नहुने उनको भनाइ छ। उनले आगामी महासमिति बैठकबाट विधानमा परिमार्जन गरियोस् भन्ने प्रस्ताव राखे।
कांग्रेस विधानमा दुई-दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्नुपर्ने व्यवस्था छ। तर गत साउनमा झन्डै एक वर्षपछि बैठक बसेको थियो। त्यतिबेला विधान अनुसार दुई-दुई महिनामा बैठक बस्नुपर्ने माग उठेको थियो। सोही अनुसार यस पटक दोस्रो महिनामा बैठक बसेको हो।
खड्काले कांग्रेसको कार्यसमिति भनेको संसद् जस्तो भएको भन्दै संसद्मै जस्तो गरी अजेन्डा प्रस्तुत गर्ने, स्वीकार गर्ने र पारित गर्ने गर्नुपर्ने बताए। नत्र बैठकमा ५० वटा कुरा आउने र नोट गर्न र जवाफ दिन गाह्रो हुने बताए। संसदीय विधि जस्तै गरी प्रत्येक अजेन्डा पारित गरेर जानु राम्रो हुने उनको सुझाव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।