काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।
बेइजिङमा द्विपक्षीय भेटवार्ता अगाडि प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ जनमुक्ति सेनाको एक टुकडीले सम्मान गारत (गार्ड अफ अनर) प्रदान गरेको थियो।
प्रधानमन्त्रीद्वय प्रचण्ड र छ्याङबीचको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन विविध सहयोग सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ।
सोमबार नै प्रधानमन्त्री प्रचण्डले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गरेका थिए।
बेइजिङमा भेटवार्ताहरुपछि प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्ने कार्यक्रम रहेको छ।
उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिने कार्यक्रम रहेको छ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित असोज १३ गते नेपाल फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।