काठमाडौं- संस्थापन इतरपक्षका नेता शेखर कोइरालाले मंगलबार दिउँसो २ बजेदेखि समूहको बैठक बोलाएका छन्। उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत निम्तो दिइएको थियो।
तर उनीहरू बैठकमा सहभागी नहुने भएका छन्।
शेखर समूहको बैठककै दिन महामन्त्री शर्माले महासमिति बैठकको महत्त्व प्रस्तुत गरेका छन्। उनले दलहरूमा फरक विचार र समूह हुनु स्वभाविक भएको बताउँदै अहिलेको समयमा महासमितिबाटै नीति, गति र मतिमाथि साझा दृस्टी निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा उनले संयोजन गर्नुपर्ने संयोजन र सम्पादनप्रति आफू सजग भएको बताए।
उनले ट्विट गरेका छन्, ‘दलहरुमा फरक विचार र विचार समूह हुनु स्वभाविक हो। कांग्रेसमा पनि छ र छन्। यो अभ्यासलाई हार्दिक ढंगले लिइनुपर्छ। तर अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो। यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छु र रहनेछु।’
उनले कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने? भन्दा महत्त्वपूर्ण प्रश्न समाजमा असन्तुष्टि किन छ? दल र नेताहरू त्यसमा कति दोषी छन्? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ? भन्ने रहेको उल्लेख गरेका छन्। महामन्त्री शर्माले महासमितिको बैठकमार्फत् यी प्रश्नको निरुपणले देशलाई र कांग्रेसलाई मार्गनिर्देश गर्ने उल्लेख गरेका छन्।
पार्टी पंक्तिमा ऊर्जा थप्दै नागरिकको वितृष्णा चिर्दै नवीन विश्वासका साथ २०८२ मा महाधिवेशन सुनिश्चितता गरी समय चेत बुझ्न र हाँक्न सक्ने सभापति हुनुपर्ने भनाइ राखेका छन्। यसैगरी अबको प्रधानमन्त्री कांग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमश: खोज्नु पर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।