काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी बनेर विभिन्न पसलहरुबाट रकम असुल गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–३ का ३७ वर्षीय अनिल सिंह र ३२ वर्षीय राहुल सिंह रहेका छन्।
उनीहरुले एक महिनाको अवधिमा अख्तियारको कर्मचारी हौं भन्दै विभिन्न पसलहरुबाट रकम असुल गरेको प्रहरीले जनाएको छ।
गत साउन ११ गतेदेखि भदौ १५ गतेसम्म जनकपुर उपमहानगरभित्रका सात वटा पसलहरुमा ‘हामीहरु अख्तियारका कर्मचारी हौं पसलका कागजात देखाउनुस्, पसलको खानतलासी गर्छौं, तपाईंको पसल सिल गर्छौं’ भन्दै धम्की दिएर रकम असुल गरेको पाइएको छ।
उनीहरुबारे खबर पाएपछि प्रहरीले खोजी गर्ने क्रममा सोमबार दिउँसो साढे ४ बजेतिर जनकपुर उपमहानगरपालिका–७ भ्रमपुरा चोकबाट दुवै जनालाई नियन्त्रणमा लिइएको हो।
उनीहरुले प्रयोग गर्ने भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। जिरोमाइल धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पाँच दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर उनीहरुले कति रकम असुल गरे भन्ने खुलाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।