काठमाडौं– झरना थापा निर्देशित फिल्म ‘एक भगवत् गीता’को निर्माण टिमले घोषणाको दिनदेखि नै धार्मिक संगठनहरूको दबाब झेल्न सुरु गर्यो। सुरुमा फिल्मको नाम ‘भागवत गीता’ थियो।
हिन्दू जागरण नेपाल, आध्यात्मिक विकास समाज, शिव सेना नेपाल, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समिति लगायतका धार्मिक संस्थाहरूले यो नामबाट फिल्म बनेमा हिन्दू धर्ममा आँच आउने भन्दै चेतावनीका साथ चलचित्र विकास बोर्डमा उजुरी दर्ता गरेका थिए।
फिल्मका निर्माता सुनिलकुमार थापाले दबाबकै कारण नाम परिवर्तन गर्न बाध्य भए। पछि फिल्मको नाम ‘एक भगवत् गीता’ राखियो। फिल्म आगामी २९ भदौबाट रिलिज हुँदैछ।
तर धार्मिक संस्थाहरूले फिल्मलाई विरोध जनाउन छाडेनन्। केहीदिनअघि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले निर्माता सुनिल कुमारलाई फोन गरेर बोर्डमा बोलाए। फिल्मलाई लिएर बोर्डमा उजुरी परेको भन्दै छलफलका लागि उनले निम्त्याएका थिए। ट्रेलर आएपछि धार्मिक संस्थाहरूले फिल्म अन्तरजातीय प्रेमकथामाथि बनेका कारण धर्मग्रन्थ गीताको दुष्प्रचार हुने भन्दै पुन: दबाब सुरु गरे।
गत सोमबार विकास बोर्डमा छलफलमा पुगेका संगठनका प्रतिनिधिहरूले फिल्मको स्क्रिप्ट हेर्न माग गरे। छलफलमा बोर्डका अध्यक्ष भुवन केसी पनि उपस्थित थिए।
मध्यस्थता गरिरहेको बोर्डले आफ्नै रोहबरमा धार्मिक संस्थाका प्रतिनिधिलाई निर्माताले स्क्रिप्ट देखाउन लगायो। ‘हामीलाई उहाँहरूले धर्म संस्कृतिमाथि आँच आउला भनेर स्क्रिप्ट हेर्न माग गर्नुभएको थियो। तर फिल्मको वान लाइन चाहिँ भन्छौँ,' फिल्मका निर्माता थापाले भने।
अन्तरजातीय प्रेम कथामा फिल्म बनेकाले नाम परिवर्तन गर्न उनीहरूले दबाब दिइरहेको थापाले बताए।
फिल्म प्रदर्शनको मिति नजिकिँदै गर्दा मानसिक दबाब खेपिरहनुपरेको उनको गुनासो छ। 'हामी धर्ममा विश्वास राख्छौँ। धर्ममाथि चोट पर्ने काम गरेका छैनौँ। भागवत् केटा र गीता केटीको नाम भएकाले फिल्मको नाम यसरी राखिएको बतायौँ। तर उहाँहरू कन्भिन्स्ड हुनुहुन्न,' उनी भन्छन्।
संगठनका नेता भन्छन्– नाम परिवर्तन गर्नुपर्छ
हिन्दू जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्याय ‘पवित्र धर्मग्रन्थ’को नामबाट फिल्म बनाउँदा समाजमा गलत सन्देश जाने बताउँछन्।
‘पछिल्लो चरण श्रीमद् भागवत गीताको नाममा फिल्म बनाउन लागिएको थाहा पायौँ। स्क्रिप्ट अन्तरजातीय प्रेमकथामा आधारित रहेछ। नयाँ पुस्ताले यो फिल्म हेरेर भागवत् गीता जस्तो पवित्रा ग्रन्थलाई कसरी लिन्छ? सेन्सर बोर्डमा हामीले यसबारे पहिल्यै नै जानकारी गरायौँ। ट्रेलर आउँदा एक भागवत् गीता नाम राखिएको रहेछ। यो गीता जस्तो पवित्र ग्रन्थलाई छोएर बनाइएको छ। यसले ग्रन्थमा आँच आउनु भएन नि,’ उनी भन्छन्।
अध्यक्ष उपाध्याय थप्छन्, ‘उहाँहरूले कथाको स्क्रिप्ट परिवर्तन गरिएको छ भन्नुभयो। हामी स्क्रिप्ट हेर्छौँ। हामीभन्दा माथिका गुरुलाई पनि सुनाउँछौ। यदि भगवत् गीताको मर्मलाई ख्याल गरिएको छैन भने नाम परिवर्तन गर्नुपर्छ।'
उनले यसअघि पनि धार्मिक नाम राखेर बनेका फिल्म जातिविशेष र धर्मविशेष प्रहार भइरहेको बताए। उनले अन्य फिल्मको पनि प्रसंग जोड्दै भने, ‘पण्डित बाजेको लौरीमा एउटा ब्राह्मणलाई बिग्रेको र जाँड रक्सी खाने पात्रको रुपमा देखाइयो। जुन समुदायले पाप गर्नुहुन्न भनेर शिक्षा दिन्छ। ज्ञानगुनको कुरा सिकाउँछ त्यही समुदायलाई होच्याइयो।’
सर्जकहरूमा मानसिक दबाब
संविधानको धारा १७ (२) (क) अनुसार प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता छ। धार्मिक विषयसँग नाम वा ‘कन्टेन्ट’ जोडिएर आउँदा धार्मिक संगठनहरूले दिएको थ्रेट नौलो भने होइन।
३ वर्षअघि गायिका सोफिया थापाको तीज विशेष गीत ‘नो व्रत प्लिज’ आउँदा धार्मिक संगठनहरूले दिएको दबाब थेग्न नसकेर युट्युवबाट गीत हटाउन बाध्य हुनुपरेको थियो। धार्मिक परम्पराविरुद्धको गीत भन्दै केही धार्मिक व्यक्तिहरूले फोन तथा मेसेजमार्फत् ज्यान मार्ने धम्कीसमेत दिए। उनलाई निम्न स्तरको गालीगलौज गरियो। धार्मिक संगठनका नेताहरूले निरन्तर थ्रेट थिए। सोफियाले धम्कीका कारण निकै दिनसम्म मानसिक यातना झेल्नुपरेको थियो।
सन् २०१८मा फिल्म ‘गरुण पुराण’का निर्देशकले नामकै कारण हिन्दू जागरण नेपाल लगायत विभिन्न धार्मिक संस्थाहरूबाट ‘थ्रेट’ झेलेका थिए। उनीहरूले पोस्टर च्यात्ने लगायत विभिन्न धम्कीहरू दिएका थिए। त्यतिबेला फिल्मका निर्देशक सुवास कोइरालाले विज्ञप्तिमार्फत् धर्मलाई आँच आउने कुनै पनि विषयवस्तु नराखिएको बताएका थिए।
‘हामीले गरुड भन्ने ब्यान्डको चर्चा अर्थात (पुराण)मा आधारित यो फिल्म बनाएकाले यसको नाम गरुड पुराण राखिएको पनि जानकारी गराउँछौँ। साथै हामीले राखेको नामबाट उहाँहरुलाई आँच पुगेकोमा हामी क्षमापार्थी छौं। आउँदा दिनमा यो नाम र यस्तो विषयमा हामी गम्भिर रहने तथा अब उपरान्त चलचित्र गरुड पुराणको थप सामग्रीहरु युट्युव र अन्य सामाजिक संजालमा प्रदर्शन गर्दा चलचित्रको नाम परिवर्तन गरेर सार्वजनिक गर्ने प्रदिवद्दता ब्यक्त गर्दछौँ,’ उनले विज्ञप्तिमार्फत् भनेका थिए।
जबकि केन्द्रीय चलचित्र जाँच समितिले नियम अनुसार फिल्म हेरेर जाँच पास गरी फिल्मलाई प्रदर्शनीको अनुमति दिइसकेको थियो।
सुवास त्यतिबेला आफूहरूलाई दिएको थ्रेट सम्झँदै कतै न कतै सम्झौता गर्नुपरेको बताउँछन्। उनी फिल्म ‘एक भगवत् गीता’ प्रदर्शन हुनुअघि नै विरोध जनाउनु ठीक नभएको बताउँछन्। ‘हामी फिल्मकर्मीहरूमा एकता छैन। यो गाह्रो विषय हो। एउटालाई पर्दा अर्को बोल्दैन। आफूलाई पर्दा मात्र बोल्छौं। त्यसकारण विभिन्न संगठनबाट सिर्जना गरेकै कारण थ्रेट आउने गर्छ,' उनी भन्छन्।
धार्मिक संगठनबाहेक राजनीतिक लगायत विभिन्न संगठनहरूले पनि सिर्जनाहरूमा हस्तक्षेप गर्ने घटनाहरू सार्वजनिक भइरहने गर्छन्।
फिल्म समीक्षक यज्ञश राज्यले तोकेको व्यक्तिबाहेक अन्य निकायले फिल्मलाई सेन्सर गर्न नमिल्ने बताउँछन्। ‘एक भगवत् गीता’को स्क्रिप्ट पढ्न धार्मिक संगठनले माग गरेको प्रसंगमा उनी भन्छन्, ‘फिल्म सेन्सर गर्नकै लागि सेन्सर बोर्ड बनाएको हो। त्यसबाहेक अन्य संस्थाले हस्तक्षेप गर्न मिल्दैन।’
‘राज्यबाहेक कुनै निकायलाई सेन्सरको अधिकार छैन’
फिल्म निर्देशक मनोज पण्डित चलचित्रकर्मीलाई धार्मिक नाम राखेर फिल्म बनाउने अधिकार भएको बताउँछन्।
‘धर्मले सधैं हामीलाई सहिष्णु र अरुको विचारलाई सम्मान गर्न सिकाउँछ। भागवत् गीता धार्मिक संगठनहरूको मात्रै स्वामित्व हैन। त्यसकारण नाम राखेर बनाउन पाइन्छ। हामीले बनाउने सिर्जनाले कसैलाई विभेद गर्छ भने ती सामाजिक रुपमा बहिष्कार हुन्छन्। त्यसलाई दर्शकले बहिष्कार गर्ने हो,’ उनी भन्छन्।
उनी राज्यबाहेक कुनै पनि निकायलाई चलचित्रमा सेन्सर वा हस्तक्षेप गर्ने अधिकार नभएको तर्क गर्छन्। ‘तर राज्य कमजोर र अस्पष्ट भएको हुँदा अरु निकायहरू आफू शक्तिशाली देखाउन शक्तिको प्रयोग गरिरहेका छन्,’ उनी भन्छन्।
आफ्नै फिल्महरू पनि पटक पटक विभिन्न संगठनहरूको सिकार भएको सम्झँदै उनले भने, ‘एउटालाई हस्तक्षेप हुँदा फिल्मकर्मीहरू एक छैनन्। यसले भोलिको दिनमा सिनेमा बनाउनुअगाडि विभिन्न झुण्डहरूसँग चलचित्रकर्मीले स्वीकृति लिनुपर्ने हुन्छ। यही प्रणाली अगाडि बढ्दै गयो भने चलचित्रकर्मीले भोलिको दिन थुप्रै समूहसँग अनुमति लिनुपर्ने हुन्छ। सर्जक भन्दा पपेट हुने परिस्थितिको निर्माण हुन्छ।’
उनी थप्छन्, ‘यसको प्रहारबाट समाजका सबै निकाय दण्डित हुनुपर्ने अवस्था हुन्छ। बिजेपिजमको प्रभुत्वबाट नेपाली सिनेमा र नेपाललाई जोगाउनु छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।