एजेन्सी- चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतमा आगामी सेप्टेम्बर ९ र १० मा हुने ‘जी–२० शिखर सम्मेलन’मा सहभागी नहुने भएका छन्। चीनको विदेश मन्त्रालयले सोमबार उक्त जानकारी दिएको हो।
सीको भ्रमण रद्द भएको जानकारी दिँदै मन्त्रालयले उक्त सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ली च्याङ नयाँ दिल्ली जाने बताएको हो। केही दिनअघि दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सीबीच भेट भएको थियो। भेटमा दुवै नेताबीच सीमा विवादका विषयमा पनि कुराकानी भएको थियो।
तर यो भेटपछि चीनले अरुणाचल प्रदेश र अक्साई चीनलाई आफ्नो सीमाभित्र देखाएर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको मतभेद फेरि चुलिएको छ। यस्तो अवस्थामा सी जिनपिङ भारत आउँदा जी–२० बाहेक दुई देशबीच द्विपक्षीय वार्ता हुन सक्छ भन्ने आशा थियो।
गएको २५ अगस्टमा रुसी राष्ट्रपति भ्लादिमर पुटिनको पनि जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत जाने कार्यक्रम रद्द भएको थियो। उनी हालै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) शिखर सम्मेलनमा पनि पुटिन अनुपस्थित थिए। गत वर्ष इन्डोनोसियाको बालीमा सम्पन्न जी-२० सम्मेलनमा पनि पुटिन सहभागी भएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।