काठमाडौं– सुन तस्करी प्रकरणमा त्रिदेशीय अपराधको कनेक्सन पुष्टि भएको छ। हङकङ, नेपाल र भारतको त्रिदेशीय कनेक्सनमा नेपालमा सुन तस्करी हुँदै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अहिलेसम्मको अनुसन्धानले देखाएको हो।
त्रिदेशीय अपराधको कनेक्सन देखिएपछि नै नेपाल प्रहरीले हङकङ र भारतमा समेत अनुसन्धान अधिकृत पठाएर काम गरिरहेको छ। हङकङमा सीआईबीमा कार्यरत एसएसपी दिनेश आचार्यलाई पठाइएको छ भने अनुसन्धानकै लागि भारतमा डीएसपी धर्मराज भण्डारीलाई पठाइएको छ।
त्रिदेशीय अपराधको कनेक्सन देखिएपछि नै विशेष ब्यूरोका डीआईजी रामदत्त जोशीलाई समेत अनुसन्धानमा सामेल गरेर अनुसन्धान अघि बढाइएको छ। त्यसैगरी थप अनुसन्धानका लागि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सहयोग दिएर पनि काम सुरु गरिएको छ।
यो सुन तस्करी प्रकरणमा अहिलेसम्म २६ जना पक्राउ परेर सीआईबीको हिरासतमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको प्रचण्डको निर्देशनपछि सुनको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को रेकर्डअनुसार यो प्रकरणमा पक्राउ पर्नेको संख्या २६ पुगेको हो।
सीआईबीले टेक्निकल (प्राविधिक) पक्षलाई केन्द्रमा राखेर गरेको अनुसन्धानको क्रममा सोमबार मात्रै सुमन खरेललाई पक्राउ गरेको छ। उनी चिनियाँ नागरिकको सहयोगी भएको पाइएको छ। त्यो भन्दा अघि भारतबाट किशोर बस्नेतलाई पक्राउ गरेर नेपाल ल्याइएको थियो। उनी पनि चिनियाँ नागरिकको सहयोगी भएको प्रहरीको दाबी छ।
भदौ १३ गते मात्रै काठमाडौं उपत्यकाबाट पाल्पा घर भएका गणेश पौडेल पक्राउ परेका थिए। उनीभन्दा अघि सीआईबीको टोलीले भदौ १ गते दुई चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्गलाई पक्राउ गरेको थियो। उनीहरु दुबै जनालाई सीआईबीको टोलीले त्यतिबेला काठमाडौंबाटै पक्राउ गरेको थियो। यसअघि साउन ३१ गते नै सीआईबीको टोलीले ४ चिनियाँलाई पक्राउ गरेको थियो। टियान मि, विङ टङ, डिङ सेग्फा, लि नेङकाईलाई पक्राउ गरेको थियो।
सुन बरामद भएको घटना सार्वजनिक भएको भोलिपल्टै चीन भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ४ गते लिन चुवान भनिने जिक्वान लिनलाई पक्राउ गरेको थियो।
सुन बरामद भएकै रात साउन २ गते राजस्वको टोलीले ६ जनालाई पक्राउ गरेको थियो। भन्सार पास गराएर ट्याक्सीमा राखेर गन्तव्यतर्फ लैजाँदै गर्दा विभागको टोलीले ट्याक्सी चालक अशोक रानामगरलाई नियन्त्रणमा लिएको थियो। लामा बा २ ज २३२४ नम्बरको ट्याक्सी चालक हुन्। उनकै ट्याक्सीमा राखेर सुन भन्सार कार्यालयबाट बाहिर निकालिएको थियो।
उनीसँगै सुन आएको रेडी ट्रेडका सञ्चालक दोलखा घर भइ काठमाडौं बस्दै आएका २१ वर्षीय दीलिप भुजेल पनि पक्राउ परेका थिए। भुजेलको रेडी ट्रेडमार्फत् स्कुटर तथा मोटरसाइकलको ब्रेक प्याडको रुपमा उक्त सुन भित्रिएको थियो।
त्यसैगरी दोलखा मेलुङ गाउँपालिका–३ घर भइ काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका–४ घर भइ काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भइ हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई गरी ६ जना पक्राउ परेका थिए।
साउन ४ गते राति नै राजस्वको टोलीले तीन जना कार्गो कम्पनीको सञ्चालकहरू राजनराज श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्टलाई पक्राउ गरेको थियो। साउन ७ गते ३ भन्सार कर्मचारी र ३ भन्सार एजेन्ट पनि पक्राउ परेका थिए।
विमानस्थल भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ गरी तीन भन्सार कर्मचारी पक्राउ परे। त्यसैगरी भन्सार एजेन्टहरू सुदर्शन गौतम, रुक्मणी सुब्बा र यादव पराजुली पक्राउ परेका थिए।
साउन १० गते नुवाकोट घर भएका सुरेन्द्र तामाङ पक्राउ परे। साउन १४ गते भने राजस्वको टोलीले ठमेलस्थित भियना होटलका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये रुक्मणीलाई हाजिरी जमानीमा छाडिएको छ।
क्याथे प्यासिफिक एयरलाइन्सको हङकङ–काठमाडौं उडानबाट ठूलो परिमाणमा सुन काठमाडौं आएको सूचना प्राप्त भएपछि राजस्वको टोलीले अपरेशन चलाएको थियो।
सुरुमा राजस्वले अनुसन्धान गरे पनि प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि अहिले सीआईबीले यो प्रकरणको अनुसन्धान गरिरहेको छ। यो सुन तस्करी प्रकरणको अनुसन्धानमा सीआईबीले विशेषगरी प्राविधिक पक्षलाई केन्द्रमा राखेको छ।
सीआईबीले सुरुमा एसपी सञ्जयसिंह भण्डारीको नेतृत्वमा अनुसन्धान टोली बनाएर अनुसन्धान गरेकोमा अहिले एआईजी किरण बज्राचार्यको कमाण्डमा अनुसन्धान भइरहेको छ। यही सुन प्रकरणको थप अनुसन्धान तथा सूचना संकलनका लागि भन्दै सीआईबीका एसएसपी दिनेश आचार्य मंगलबार राति हङकङ गएका छन्।
त्यसैगरी नेपाल प्रहरीले प्रहरीको अपराध नियन्त्रणका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलसँग पनि सहयोग मागेर यो घटनाको अनुसन्धान गरिरहेको छ।
पक्राउ परेकाहरूको मोबाइल तथा सिमकार्ड, त्यसमा आएको फोनकल तथा म्यासेजको विवरणहरू, टेक्निकल एनालाइसिस र फम्र्याट तथा डिलेट भएका विवरणहरूको रिकभर गरेर अनुसन्धान गर्ने काम सीआईबीले गरिरहेको छ।
प्रतिवादीवादीहरूबाट बरामद भएका फोनहरू पनि जाँचका लागि फरेन्सिक ल्याबमा पठाउने र उनीहरूको कनेक्सन को–कोसँग देखिन्छ त्यसतर्फ अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले जनाएको छ।
योसँगै यसअघि पक्राउ परेका सुन तस्करहरूसँग सम्बन्ध भए/नभएको, विभिन्न छानबिन समितिले औंल्याएका तथा अनुसन्धान हुनुपर्ने भनेर सुझाएका पक्ष तथा व्यक्तिहरूमा केन्द्रित रहेर पनि अनुसन्धानलाई अघि बढाइएको सीआईबीले जनाएको छ।
सुन तस्करी प्रकरणमा अहिलेसम्म पक्राउ परेकाहरूको विवरणअनुसार ३ देशका नागगरिक प्रत्यक्ष रुपमा जोडिएका छन्। चीन, भारत र नेपाल गरी तीन देशका नागरिक यो प्रकरणमा जोडिएको खुलेको छ।
अर्कोतर्फ सुन हङकङबाट नेपाल आउने र यहाँबाट स्थलमार्ग हुँदै भारत सप्लाइ हुने अहिलेसम्मको अनुसन्धानले देखाएकाले पनि अपराधमा त्रिदेशीय कनेक्सन देखिएकाले सोही अनुसार अनुसन्धान अघि बढाइएको छ।
सीआईबीले अहिले संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ। यो कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। जसअनुसार अहिले पक्राउ परेकाहरूको ६० दिन असोज २ गते पूरा हुने भएकाले असोज २ गतेभित्र अदालतमा यो मुद्दा टेकाइसक्नुपर्ने बाध्यता सीआईबीलाई छ। सोही अनुसार अनुसन्धानलाई तीव्रता दिइएको सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।