काठमाडौं– थाई नेपाली संघको नेतृत्वमा आएको ४० जनाको जम्बो टोलीले भदौको पहिलो हप्ता नेपालको भ्रमण गर्यो। उनीहरूले उच्चस्तरीय राजनीतिक भेटघाट पनि गरे। सभामुख, राष्ट्रिय सभा अध्यक्षदेखि मुख्यसचिवसम्मलाई उनीहरूले भेटे।
थाई–नेपाली संघका संरक्षक कुमार कार्की र केन्द्रिय अध्यक्ष वासना राईको नेतृत्वमा नेपाल आएको टोलीले नेपाल भ्रमणको क्रममा चार देशमा रहेका नेपाली मूलका नेपालीहरूको पहिचानको मुद्दामा उच्चस्तरीय लबिङ गरेका थिए। थाईल्याण्ड,मलेसिया ,फिजी र म्यान्मारमा रहेका नेपालीहरूको पहिचानको मुद्दा उनीहरूले उठाए।
उनीहरूले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराँती, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, मुख्य सचिव बैकुण्ठ राज अर्याल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई भेटेर आफूहरू वर्षौदेखि पहिचानविहीन भएको कुरा सुनाए।
आफूहरूले आफ्नो पिता पुर्खाको भूमि भनेर माया र सम्मान गरेको र विदेशमा पनि नेपाली वा गोर्खाली भनेर पहिचान पाएको तर नेपालमा भने पहिचानविहीन भएको उनीहरूको गुनासो थियो।

करिब एक हप्ता उनीहरूले छुट्टाछुट्टै राजनीतिक भेटघाट गरेका थिए। साथै उनीहरूले त्यहाँ बस्ने नेपालीहरूको पहिचानका बारेमा पनि सरकार र संसद्का नेतृत्वलाई जानकारी गराए। कानुन निर्माण गर्ने थलोको नेतृत्व गरेका सभामुख र राष्ट्रियसभा अध्यक्षलाई उनीहरूले नागरिकता विधेयकमाथि संसद्मा छलफल हुँदा र एनआरएनए सम्बन्धी कानुन निर्माण हुँदा आफूहरूको माग सम्वोधन गर्ने विषयमा ध्यानाकर्षण गराए।
उनीहरूले आफ्नो माग यसअघि नै परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर राखेका थिए। २०८० वैशाख ४ गते नवनियुक्त परराष्ट्र मन्त्रीलाई बधाई दिन पुगेका एनआरएनएका नेताहरूले नेपालबाट गएका नेपाली मात्र नभई नेपाली मूलका नेपालीहरूको पनि पहिचानको कुरामा समस्या रहेको भन्दै परराष्ट्रमन्त्री साउदलाई ध्यानकर्षण गराएका थिए। थाई एनआरएनए र थाई नेपाली संघले पनि परराष्ट्रमन्त्रीसँग आफ्नो कुरा राखेको थियो।

सरकारको सकारात्मक सन्देश
भेटपछि सरकारका ११ मन्त्रालयमा थाई नेपाली संघले निवेदन बुझाएको र सबैबाट सकारात्मक सन्देश पाएको संघका संरक्षक कुमार कार्कीले बताए।
संघीय संसद्को नेतृत्वले पनि कानुन निर्माण गर्दा नेपालीमूलका नेपालीहरूको पनि माग सम्बोधन गर्ने कुरामा आफूहरू सकारात्मक रहेको जवाफ दिएका थिए। नागरिकता सम्बन्धी विधेयक र अन्य कानुनहरू निर्माण हुँदा यस्ता माग सम्बोधन गर्ने र नेपालीमूलका मानिसहरूलाई अरु केही नसके पनि पहिचान दिलाउनुपर्ने पर्ने पक्षमा आफूहरू रहेको सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनाले बचन दिएका थिए। सरकार र संसद्का नेतृत्वले आफूहरूको कुरा गम्भीर रुपमा लिएकोमा धेरै खुशी लागेको कार्कीले बताए। उनले आफूहरूलाई एनआरएनए सरहको सुविधा भन्दा पनि पहिचान चाहिएको भनाइ राखे। ‘नेपाल हाम्रो पितापुर्खाको भूमि हो। हामीलाई पनि यो देशले पहिचान दिएको छ भनेर गर्वका साथ भन्न सक्ने परिचय दिए पुग्छ,’ उनले बताए।

थाईल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरू दोस्रो विश्वयुध्दताका नेपालबाट भारत, म्यान्मार हुँदै थाईल्याण्डको सिमाना पिलोक भन्ने ठाउँमा रहेको सीसा फलामको माइन (खानी) मा ज्यामी मजदुरको रुपमा प्रवेश भएको इतिहास छ।
विगत आठ-नौ दशकबाट नेपाली जातिको पुस्तौपुस्ता वर्तमान समयसम्म आफ्नो मौलिक परम्परा तथा धर्मसंस्कार, संस्कृति र आफ्नो विशुद्ध मातृबोली, भाषा साहित्यको जगेर्ना गरी साथमा नेपाल र नेपालीको गरिमालाई पनि बचाएर तथा बढाएरै नेपाल र नेपालीप्रति अगाध माया सद्भाव तथा आस्था संगालेर थाईल्याण्डमा बसोबास गर्दै आएका उनीहरूले सरकारलाई दिएको निवेदनमा भनिएको छ।
यसरी बस्दै जाँदा लामो समयपछि थाईल्याण्ड प्रवेश हुँदा सबै नेपालीहरूले म नेपाली हुँ भन्ने कुनै किसिमको कागजपत्र प्रमाणपत्र साथमा लिएर आएका थिएनन्। त्यसबेला नागरिकता प्रमाणपत्रको चलन थिएन। बस्दै जाँदा विश्वयुद्धपछि देशहरू स्वतन्त्र भए, थाईल्याण्ड प्रवेशपछि नेपालीहरू देशविहीन/गैरनागरिक हुन पुगेको उनीहरूको भनाइ छ।
यस्तो अवस्थामा नेपालका तत्कालीन राजा वीरेन्द्र शाहको र नवौं थाई नरेशका बीच दुई देशको मैत्री सम्बन्ध विकासमा थाई प्रवासी नेपालीहरूको निवेदनको पहल हुँदा नेपाली राजदूतावासको नेतृत्वमा नेपालीहरू नेपालमूलका व्यक्ति भन्ने पहिचान दिएका थिए।
सन् १९८७ मा नेपाली शरणार्थीको रुपमा ग्रीन कार्ड प्राप्त भएको थियो। तत्पश्चात् लगभग पन्ध्र वर्षपछि नेपाली राजदूतावासकै पहलमा सन् २००१ बाट अस्थाई ग्रीन कार्डबाट स्थायी थाई नागरिकता प्राप्त गरेको उनीहरूले निवेदनमा उल्लेख गरेका छन्।
कार्कीले अब हुने एनआरएनएको विश्व अधिवेशनमा पनि यो मुद्दालाई उठाउने क्रम जारी राख्ने बताए। थाई नेपाली संघकी अध्यक्ष बासना राईले आफूहरूको भावनासँग नेपाल जोडिएको र पुर्खाको भूमिको रुपमा सम्मान मात्र खोजेकाले हरेक मञ्चहरूको यो कुरा उठाइरहने बताइन्। उनले नेपालप्रतिको माया,साइनो र सम्मानका लागि पनि आफूहरूले यस्तो कुरा उठाएको पनि बताइन्। नेपालसँग कुनै आशा वा माग भन्दा पनि आफूहरूले पहिचान चाहेको उनको भनाइ थियो। थाईल्याण्ड,म्यान्मा,फिजी जस्ता देशहरूले नेपाली वा गोर्खाली भनेर पहिचान दिएकाले यही पहिचान नेपाल सरकारले पनि देओस् भन्ने आफूहरूको चाहेको उनको भनाइ छ।
‘तत्कालीन समयमा नेपालीहरू गोर्खाली भएर बर्मा गए। अनि त्यहाँ युद्ध लडे। उनीहरूसँग नेपाली नागरिकता थिएन। उनीहरू नेपाल फर्केनन् अनि पछिल्लो पुस्ता पनि हराए,’ कार्कीले भने, ‘तर हामी पछिल्लो समय नेपाली मूलका नागरिक हौँ भनेर पहिचान मागिरहेका छौ। हामीलाई कुनै अधिकार चाहिएको छैन पहिचान मात्र भए हुन्छ।’
एनआरएनएको हकमा कि नेपाली कि विदेशीको नागरिकता र पहिचान रहेको छ। तर यी चार देशमा बस्ने नेपालीहरूको भने यो पहिचान पनि छैन। उनीहरूको नेपाली भनेर विदेशमा लेखिएको छ तर नेपालले पनि कुनै पनि परिचय वा पहिचान दिएको छैन।
‘यी चार देशमा बसेका नेपालीमूलकाहरूसँग न नेपाली नागरिकता छ, न परिचय छ, न त थाईल्याण्ड वा त्यो देशको छ,’ उनले भने,‘लामो संर्घषपछि उनीहरूले विदेशी दूतावास पुगेपछि शरणार्थीको रुपमा अनुमति पाए अनि नेपाली मूलको पहिचान पाएर बसेका छन्।’ मलेसिया र फिजिको परिचयपत्रमा पनि गोर्खा भनेर लेखिएको छ। यो एउटा प्रमाण भएकाले नेपालले यही आधारमा आफूहरूलाई पहिचान दिन माग गरेको उनले बताए।

‘विदेशी देशले हामीलाई यो पहिचान दिन्छ भने नेपालले किन नदिने र हामीलाई किन रिकगनाइज नगर्ने भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीलाई नेपाल आएर राजनीति गर्नु छैन। नागरिकता पनि मागेका छैनौँ। हामीलाई कुनै न कुनै रुपमा पहिचान दिइयोस् मात्र भनेका हौ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।