एजेन्सी– अमेरिकी र रुसी अधिकारीहरू मङ्गलबार साउदी अरेबियाको राजधानी रियादमा भेट गर्ने भएका छन्।
दुई देशका विदेशमन्त्रीहरूबीच ऐतिहासिक वार्ता भएको एक हप्ता नबित्दै उक्त बैठक हुन लागेको एक कूटनीतिक स्रोतले जनाएको छ।
वार्ताको संवेदनशीलताका कारण नाम उल्लेख नगर्ने शर्तमा स्रोतले सोमबार जानकारी दिँदै भने, “गत हप्ताको बैठकपछि हुने यो नयाँ छलफल ‘फलो-अप बैठक’ हुनेछ। बैठकको स्तर केही तल भए पनि यसले प्रगतिको सङ्केत गर्छ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभको नेतृत्वमा दुवै देशका प्रतिनिधिमण्डलहरू गत हप्ता रियादमा भेटेका थिए। बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सम्भावित शिखर वार्ताको आधारशिला राख्ने विषयमा छलफल भएको थियो।
गत हप्ताको बैठकपछि २०२२ फेब्रुअरीमा मस्कोद्वारा युक्रेनमा गरिएको आक्रमणयता पहिलो पटक दुवै देशबीच उच्चस्तरीय संवाद भएको थियो। सो बैठकमा अमेरिका र रुसले विवाद समाधान गर्न ‘परामर्श संयन्त्र’ स्थापना गर्ने र युक्रेन युद्धबारे वार्ताका लागि प्रतिनिधिहरू नियुक्त गर्ने सहमति जनाएका थिए।
यो छलफल फेब्रुअरीको सुरुमा ट्रम्प र पुटिनबीच भएको टेलिफोन वार्तापछिको निरन्तरता हो। सो वार्ताले रुसी राष्ट्रपतिलाई अलग्याउने पश्चिमी रणनीति उल्ट्याएको विश्लेषण गरिएको थियो।
ट्रम्पले मस्कोसँग सम्झौताका सम्भावनाबारे आफू ‘धेरै विश्वस्त’ रहेको बताइसकेका छन्। फ्लोरिडाको मार-ए-लागो निवासमा पत्रकारहरूले महिनाको अन्त्यअघि पुटिनसँग सम्भावित बैठकबारे सोध्दा उनले ‘सम्भवतः’ भन्ने जवाफ दिएका थिए।
उनले युरोपेली राष्ट्रहरू वा युक्रेनको संलग्नता बिना नै रुस-युक्रेन युद्ध अन्त्य गर्न तयार रहेको बताउँदा युरोपभर चर्चा भएको थियो। साथै, उनले युद्ध सुरु गर्न युक्रेन नै जिम्मेवार रहेको रुसी दाबी दोहोर्याएको जस्तो देखिएको थियो।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने ‘युक्रेन बिना युक्रेनका बारेमा’ वार्ता हुन नहुने भन्दै आलोचना गरेका छन्।
यसै सन्दर्भमा ट्रम्पले मङ्गलबार पत्रकारहरूसँग भने, “म धेरै निराश छु। म सुनिरहेको छु, उनीहरूलाई निम्तो नपाएको गुनासो छ। तर तपाईं तीन वर्षदेखि त्यहाँ हुनुहुन्छ… तपाईंले यसलाई कहिल्यै सुरु गर्नु हुँदैन थियो। तपाईंले एक सम्झौता गर्न सक्नुहुन्थ्यो। मलाई लाग्छ, मसँग यो युद्ध अन्त्य गर्ने शक्ति छ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।