काभ्रे– हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–८ का २६ वर्षीय सुजन उप्रेती रहेका छन्।
उनलाई प्रहरीले बुधबार पक्राउ गरिएको छ। मेलुङ गाउँपालिका–१ घर भई काठमाडौंको काँडाघारी बस्ने २८ वर्षीय निर्मल बुढाथोकीको हत्या आरोपमा सु्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बुढाथोकी मंगलबार बिहान बेथानचोक गाउँपालिका-२ स्थित ढोलखोलामा मृत भेटिएका थिए। उक्त घटनाको अनुसन्धान गर्ने क्रममा सुजन उप्रेतीको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले प्रहरी वृत्त लैनचौरको सहयोगमा काठमाडौंको ढल्कुबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू लागुऔषध गाँजा खरिद गर्नको लागि बेथानचोक गएकोमा आपसी वादविवादको क्रममा सुजनले निर्मलको हत्या गरेको खुलेको छ। उनीहरु बेथानचोकस्थित तिर्थराज तिमल्सिनाको घरमा बास बसेको पनि पाइएको छ।
प्रहरीले निमल्सिनाको घर खानतलासी गर्दा सुजनको झोला, पासपोर्ट तथा अवैध लागुऔषध गाँजा जस्तो देखिने पदार्थ ९ केजी ७७ ग्राम फेला पारेको थियो। तिर्थराज समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट सुजनविरुद्ध ज्यानसम्बन्धी कसुर मुद्दामा ५ दिन र तिर्थराजविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।