काठमाडौं- स्वास्थ्य बिमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । व्यवस्थापिका संसदको मंगलबार बसेको बैठकले विधेयक पारित गरेको हो।
दुई सातादेखि दफावार छलफलमा रहेको विधेयकलाई संसदको महिला, बालबालिका, समाज कल्याण तथा ज्येष्ठ नागरिक समितिले सोमबार अन्तिम रुप दिएको थियो।
समितिबाट पारित भएर संसदमा आएको विधेयकलाई मंगलबार नै कार्यसूचीमा राखेर पारित गरिएको हो । उक्त विधेयकको मस्यौदालाई पूर्व स्वास्थ्य मन्त्री गगन थापाको पालामा स्वास्थ्य मन्त्रालयले अन्तिम रुप दिएर अगाडि बढाएको थियो । पूर्वमन्त्री थापाले अगाडि बढाएको उक्त विधेयकलाई हालका मन्त्री गिरिराजमणि पोखरेलले परिमार्जन गर्दै अगाडि बढाएका थिए।
गत साउन २२ गते स्वास्थ्य मन्त्री पोखरेलले उक्त विधेयक संसदमा दर्ता गराएका थिए । त्यसको तीन दिनपछि विधेयकमाथि संशोधन हाल्न खुला गरिएको थियो । त्यसपछि उक्त विधेयकबारे महिला बालबालिका समितिमा असोज ८ देखि दफावार छलफल भएको थियो । संसदमा दर्ता भएको विधेयकमा केही संशोधन गरी विधेयक पारित भएको हो।
छलफलका लागि समितिकी सभापति रञ्जु झाको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा सांसदहरु राजेन्द्र पाण्डे, डिआर पौडेल, आनन्दीदेवी पन्त र जीवन परियार सदस्य थिए ।
पारित भएको उक्त विधेयकमा सबै नागरिकलाई स्वास्थ्य बिमामा समेट्ने र यसका लागि छुट्टै स्वास्थ्य बिमा बोर्ड गठन गर्ने व्यवस्था राखिएको छ । मन्त्री पोखरेलले संसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य बिमामा सबै नागरिकलाई समेटिने र नागरिकको संविधानप्रदत्त स्वास्थ्य अधिकार थप ग्यारेन्टी हुने बताए ।
'यो नागरिकको स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हो', मन्त्री पोखरेलले भने।
पूर्वमन्त्री थापाले सबै नागरिकलाई बिमामा समेट्ने विधेयक पारित भएकोमा खुसी व्यक्त गर्दै भने, ‘विधेयक पास भएसँगै गुणस्तरीय उपचार सेवामा नागरिकको पहुँचको ढोका खुलेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।