काठमाडौं- सप्तरी जिल्लाको बोदेबर्साइन नगरपालिकाका पूर्वमेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजित बजेट हिनामिनाको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
माँ जगदम्बा कृषक समूहका नाममा बाख्रा पालनको अनुदानको रकम झूटो बिल भरपाई गरी दिएको र उक्त समूहले बाख्रा पालन नै नगरेको भेटेपछि अख्तियारले मुद्दा दायर गरेको हो। नगरपालिकाबाट उक्त समूहका नाममा १४ लाख ७१ हजार ९२१ रुपैयाँ अनुदान रकम दिइएको थियो।
पूर्वमेयर सिंहसहित अख्तियारले उक्त झूटो बिल भरपाईमा संलग्न आरोपमा पशु विकास अधिकृत अर्जुन प्रसाद यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव, लेखापाल सरोज कुमार मंडल, वडा ४ का तत्कालीन वडाअध्यक्ष रामानन्द चौधरी, नगरपालिकाको तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतसमेतलाई प्रतिवादी बनाएको छ।
यसैगरी रकम भुक्तानी भएको माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्याम कुमार साह र कोषाध्यक्ष निलम कुमारी शर्मालाई पनि विपक्षी बनाइएको छ।
पशु विकास अधिकृत अर्जुन प्रसाद यादवले संचालन नै नभएको उक्त कार्यक्रमको स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो रहेको भनी गलत प्रतिवेदन दिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।