काठमाडौं– नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको बताएका छन्। प्रतिनिधि सभा बैठक जारी रहँदा कुनै पनि मन्त्री सदनमा नदेखिएपछि उनले सरकारको खोजी गर्ने प्रस्ताव राखेका हुन्।
‘यो सरकार हरायो सभामुख महोदय, सरकारको खोजी गरी पाऊँ। मन्त्रीहरुबेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन। प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु। प्रधानमन्त्री र २५ जना मन्त्रीहरुमध्ये एक जना पनि यो सदनमा नदेखिनु यो सदनको घनघोर अपमान हो। म गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहन्छु,’ थापाले भने।
थापाले बोल्न सुरु गर्दा सरकारका कुनै पनि मन्त्री सदनमा उपस्थित थिएनन्। तर थापाले सम्बोधन सक्नै लाग्दा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई उपस्थित भएकी थिइन्। सभामुख देवराज घिमिरेले पनि मन्त्री उपस्थित भइसकेकाले निर्धारित कार्यक्रम अगाडि जाने बताए।
प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ अनुसार, बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रुपमा हुनु पर्नेछ। यसअघि पनि बेलाबेलामा मन्त्री नआइदिँदा संसद बैठक सर्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।