काठमाडौं– बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा बयान दिएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुख्य सचिवमार्फत पेस भएको प्रस्तावमा त्रुटी छैन भन्ने हिसाबले विश्वास गरेर निर्णय भएको उल्लेख गरेका छन्।
सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)समक्षको बयानमा उनले यस्तो बताएका हुन्। मन्त्रिपरिषद्मा हजारौं प्रस्ताव आउने भएकाले सबैको प्राविधिक पक्ष समेत याद नहुने उनले बताएका छन्।
यस्तो छ भट्टराईले दिएको बयान
यो प्रक्रियागत रुपमा भूमि व्यवस्था मन्त्रालयबाट उठी आएको प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइ मन्त्रिपरिषद्बाट सामाजिक समितिमा पठाइएकोमा सामाजिक समितिको सुझाब अनुसार मन्त्रिपरिषद्ले प्रस्तावमा लेखिए बमोजिम गर्न स्वीकृती दिएको हो।
सम्पूर्ण विधि प्रक्रिया पुरा गरेर विधिवत रुपमा मन्त्रिपरिषद्मा पेस भएको प्रस्ताव उपर छलफल भइ सामुहिक रुपमा गरिएको निर्णय हो। म करिब १८ महिना नेपालको प्रधानमन्त्री पदमा बहाल रहेको अवस्थामा हजार भन्दा बढी प्रस्तावहरु मन्त्रिपरिषद्मा पेस भए होलान, सबै प्रस्तावको प्राविधिक पक्ष याद हुने कुरा भएन, मन्त्रिपरिषद्को कार्यालयमा रहेको अभिलेखबाट अवगत हुन सक्छ।
मन्त्रिपरिषद्को निर्णय सरकारी जग्गा व्यक्ति बिशेषलाई दिने भन्ने होइन। उल्लेखित प्रस्ताव मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफल गरी पेस गर्न पठाएकोमा उक्त समितिको मिति २०६९ असोज १४ गते बसेको बैठकले पेस गरे अनुसार ‘पुनस् नापी बमोजिम नेपाल सरकार, समरजंग कम्पनीको नाममा दर्ता भएको जग्गाको दर्ता सच्याई साविक लगत बमोजिम श्री पशुपती टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृती दिने’ भन्ने मन्त्रिपरिषद्बाट निर्णय भएको हो।
मन्त्रिपरिषद्मा पेस भएको प्रस्तावमा साविक लगत बमोजिम भन्ने व्यहोरा उल्लेख भएकोले सोही अनुसार निर्णय भएको हो। मन्त्रिपरिषद्मा निर्णयार्थ पेस हुने सम्बन्धित मन्त्रालयको प्रस्ताव मुख्यसचिव मार्फत् मन्त्रिपरिषद्मा पेस हुने भएकोले यसरी पेस भएको प्रस्तावमा कुनै किसिमको कानुनी वा अन्य त्रुटी छैन भन्ने विश्वासमा प्रस्ताव उपर निर्णय गरिन्छ।
यी निर्णयहरुमा मेरो व्यक्तिगत र पारिवारीक स्वार्थ, चाहना वा चासो जोडिएको विषय होइन, मेरो सार्वजनिक जीवन र नैतिक आचरण निष्कलंक रहि आएको छ, यसरी चर्चामा आएको प्रस्तुत विषयमा मेरो कुनै किसिमको बदनियत वा गलत मनशायले गरिएको निर्णय होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।