काठमाडौं– कोशी प्रदेश सरकार गठन तथा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले बिहीबार पहिलो सुनुवाइ गर्दै छ। कोशी प्रदेशमा सरकार गठनसम्बन्धी दोस्रो विवाद पनि सर्वोच्च अदालत प्रवेश गरेको छ।
मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख विपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। विश्वासको मत लिँदा सत्ता गठबन्धनले संविधानको धारा १८६ विपरीत गरेकोले विश्वासको मत बदरको माग रिटमा गरिएको छ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभा बैठकको अध्यक्षता गरेका सत्ता पक्षका सांसद इस्राइल मन्सुरीले मत दिएको र उक्त कार्यले संविधान मिचिएको दाबी रिटमा गरिएको छ। एमाले प्रदेश सभा संसदीय दलका नेता हिक्मत कार्कीका तर्फबाट बुधबार सर्वोच्चमा रिट दर्ता भएको हो।
प्रारम्भिक सुनुवाइका लागि बिहीबारका लागि तोकिएको छ। एकल न्यायाधीशको इजलासले अन्तरिम आदेशबारे छलफल गर्ने छ। रिटमा मुद्दाको अन्तिम किनार नलाग्दासम्म अन्तरिम आदेशको माग समेत गरिएको छ। मुख्यमन्त्रीको रुपमा काम काज गर्न रोक्नुपर्ने माग रिटमा गरिएको छ।
यसअघि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम गौतमको हस्ताक्षर समावेश गरेर मुख्यमन्त्री नियुक्त भएका थापाको नियुक्ति बदर गर्दै सर्वोच्चले सरकार गठनको नयाँ प्रक्रिया थाल्न परमादेशको आदेश जारी गरेको थियो।
सर्वोच्चको आदेशानुसार पुन: सरकार गठनको प्रक्रिया सुरु हुँदा तत्कालीन सभामुख गौतमले राजीनामा दिएर सरकारमा दाबी पेस गर्न सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याएका थिए। तर थापाले विश्वासको मत लिँदा एमालेले उपसभामुख सृजना दुनुवार र आफ्नो पार्टीका ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर विश्वासक मत असफल पार्न खोजेको थियो।
तर बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरी मतदान प्रक्रियामा सहभागी भएपछि मुख्यमन्त्री थापाको पक्षमा ४७ मत पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।