काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।
गौरा पर्वका अवसरमा बिहीबार शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले पर्वको सन्दर्भ पारेर खेलिने देउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिले गौराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेको बताएका छन्।
‘यस पर्वमा समाजका सम्पूर्ण सदस्य घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ,’ प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
प्रधानमन्त्री प्रचण्डले बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वले महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।
हिन्दू धार्मिक कथ्यका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भए पनि पर्यावरणीय दृष्टिले किसानले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाड बनाउने क्रममा गौरा स्थापित हुँदै आएको उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले सहरीकरणको विकास र बसाइँसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भूभागमा उत्तिकै महत्त्वका साथ मनाउन थालिएको उल्लेख गरेका छन्।
प्रधानमन्त्री दाहालले सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गौरा पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको शुभकामनासमेत व्यक्त गरेका छन्। नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश तथा भारतको कुमाउँ, गढवाल क्षेत्रमा मुख्य सांस्कृतिक चाडको गौरा मनाउने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।