काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक चन्द्रयान–३ अवतरण भएकोमा भारतलाई बधाई दिएका छन्।
बुधबार साँझ भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको थियो। दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने भारतीय यान पहिलो हो।
प्रधानमन्त्री प्रचण्डले भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धी हासिल गरेकोमा बधाई दिएका छन्।
उनले भनेका छन्, ‘मित्रराष्ट्र भारतले “चन्द्रयान–३” नामक यान चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको खबरले प्रफुल्लित छु। मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरीक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्वपूर्ण उपलब्धी हासिल गरेको छ।’
भारतको यो सफलताले संसारभरीका वैज्ञानिक तथा अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको भन्दै प्रशंसा गरेका छन्। उनले भनेका छन्, ‘संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको छ। यस ऐतिहासिक कार्यका निम्ति समकक्षी महामहिम नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।