काठमाडौं- चन्द्रमामा पठाइएको अधिकांश मिसन भूमध्यरेखीय क्षेत्रमा पुगेका छन्। जहाँको जमिन दक्षिणी ध्रुवको तुलनामा सपाट छ। तर, चन्द्रमाको दक्षिणी ध्रुवमा कति ज्वालामुखीसमेत छन्। यहाँको जमिनमा निकै उबड-खाबड छन्। चन्द्रयान-३ लाई सफलतापूर्वक त्यहाँ अवतरण गराइएको खण्डमा थप केही रहस्योद्घाटन हुनेछन्।
चन्द्रमाको यो क्षेत्र साढे दुई हजार किलोमिटर चौडा र आठ किलोमिटर गहिरो खाडल रहेको अवस्थामा छ। जसलाई सौर्यमण्डलको पुरानो इम्प्याक्ट क्रेटर मानिन्छ। नासाका अनुसार चन्द्रमाको दक्षिणी ध्रुव सूर्य क्षितिजको मुनि वा थोरै माथि रहन्छ। सूर्यको थोरै किरण दक्षिणी ध्रुवमा पर्ने समयमा त्यहाँको तापक्रम ५४ डिग्री सेल्सियस पुग्छ।
तर, यस क्षेत्रमा अग्ला पहाड र गहिरो खाडल छन्। जो किरण पर्ने समयमा पनि अँध्यारोमै डुबिरहेका हुन्छन्। तीमध्ये एक पर्वतको उचाइ सात हजार मिटर छ। छायाँ पर्ने समयमा यहाँको तापक्रम माइनस २०३ डिग्री सेल्सियसदेखि २४३ डिग्री सेल्सियससम्म पुग्छ।
नासाका अनुसार यो समय अत्याधुनिक सेन्सर छ तर यस उबड-खाबड जमिन र अँध्यारोका कारण दक्षिणी ध्रुवमा उत्रिने यानका लागि जमिनको परिस्थित आकलन गर्न मुस्किल हुन्छ। यससँगै कुनै प्रणालीहरु तापक्रमको घटबढबाट प्रभावित हुन सक्छन्। चन्द्रमाको यो क्षेत्र भारतको मात्रै होइन, रुस, चिनलगायत विश्वका शक्ति राष्ट्रको रुचिको विषय बनेको छ।
रुसले चन्द्रयान-३ पछि आफ्नो अभियान लुना-२५ पठाएको थियो। जसलाई दक्षिणी ध्रुवमा ल्यान्ड गराउने भनिएको थियो। तर, गतहप्ता नियन्त्रणभन्दा बाहिर गएर चन्द्रमाको सतहमा क्र्यास भयो। यसका साथै चीनले चाँडै चन्द्रमाका लागि मिसन सुरु गर्ने बताएको छ। भारतले चन्द्रयान-३ पछि चन्द्रयान-४ र त्यसपछि जापानसँग मिलेर ज्वाइन्ट एक्सप्लोरेशन मिसनमा काम गर्ने बताएको छ। यसको अर्थ चन्द्रमाको अँध्यारो क्षेत्रमा रहेको जानकारी प्राप्त गर्नु हो।
सवाल यो रहेको छ कि चन्द्रमाको यो जोखिपूर्ण हिस्सासम्म पुग्ने कोशिस किन भइरहेको छ? विशेषज्ञका अनुसार यस रेसका पछाडि अनेक कारण छन्। मुख्य कारण पानीको उपस्थिति यकिन गर्नु हो।
नासाको अन्तरिक्ष यान लुनर रिकानसन्स अर्बिटरले जुटाएको तथ्यांक अनुसार अँध्यारोमा रहेको गहिरो खाडलमा बरफ छ। संसारका धेरै देशले मान्छेलाई चन्द्रमामा पठाउने योजना बनाइरहेका छन्। अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा रहन पानी जरुरी हुन्छ। यति मात्र नभइ पानीको अणुलाई हाइड्रोजन र अक्सिजन परमाणुमा तोड्न सकिन्छ।
सबैभन्दा पहिले वैज्ञानिक यो जान्न चाहिरहेका छन् कि चन्द्रममा कति बरफ छ? कुन रुपमा छ? के यसलाई राम्रोसँग निकाल्न सकिन्छ कि सकिँदैन?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।